पोखराः नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि कालीगण्डकी नदीमा क्रुज सिप सञ्चालन गरिएको छ । पर्वत,गुल्मी र स्याङजाको संगमस्थलमा कालिगण्डकी जलविधुत आयोजनाका क्रममा बनेको जलाशयमा क्रुज सिप सञ्चालनमा ल्याइएको हो ।
यस जलयात्राको लम्बाई ७ कि.मि.रहेको छ । २५ लाखको लागतमा ईटहरीमा निर्माण गरिएको क्रुज सिप (माउण्ट मकालु पानीजहाज) शालिग्राम कालीगण्डकी जलयातायात (पानी जहाज) कम्पनी प्रा.लि.ले सञ्चालनमा ल्याएको हो ।
क्रुज सिपको गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वतावरण मन्त्री विकास लम्सालले उद्घाटन गरे । उद्घाटन गर्दै मन्त्री लम्सालले नेपालमा जल पर्यटनबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न सकिने बताए । भ्रमणवर्ष २०२० लक्षित गरी सञ्चालनमा ल्याइएको क्रुजसिपले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
मन्त्री लम्सालले कालीगण्डकी प्राकृतिक, साहसिक तथा धार्मीक पर्यटकीय हिसावले महत्वपूर्ण रहेको चर्चा गर्दै देवघाट,रानीमहल,सेतीवेणी,मोदीवेणी हुदै मुक्तीनाथ सम्मको धार्मीक पर्यटकीय स्थललाई एउटा प्याकेजका रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए ।
कालिगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मी बाट शुरु भएको जलयात्रा विश्व प्रख्यात तथा प्रसिद्ध पर्यटकीय स्थल शिला शालिग्राम भएको स्थान सेतीवेणीसम्म पुगिन्छ । विश्वकै ठुलो शालिग्राम दर्शन गर्न आउने पर्यटकहरुले जलयात्र गरी मनोरञ्जन प्राप्त गर्न सक्नेछन् । सेतीवेणीबाट मिर्मीसम्मको जलयात्रा गर्ने तथा शिला शालिग्राम दर्शनका लागि मिर्मीबाट जलयात्रा गर्ने पर्यटकहरु अब १० मिनेटमै पुग्ने कम्पनीका सञ्चालक चित्र बहादुर रानाले जानकारी दिए ।
छ महिना अगाडि नेपाल सरकारबाट मकालु पानीजहाज सञ्चालनका लागि अनुमति पाएको यस कम्पनीले अहिले २० सिटको क्रुजबाट यात्रा शुरु गराएता पनि तीन महिनाभित्र १२० ‘सिटर स्मल क्रुज’ सञ्चालन गरिने उनले बताए ।
यहाँ यस अघि देखिनै ईन्जिन र काठबाट बनेको ५० देखि १ सय जना मानिसहरुसम्म बोक्न सक्ने क्षमताका १० वटा स्टिम्बर सञ्चालनमा छन् । रेडियो नेपाल