अमेरिकी हवाई आक्रमणः इराक र सिरियामा कम्तीमा १८ जनाको मृत्यु

काठमाडौंः आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित लडाकु शिविरमा आक्रमण गरेको छ।

कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको छ।

अमेरिकाले हिज्बुल्लाहलाई आतङ्कवादी सङ्गठन मानेको छ।

गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए भने कैयौँ अमेरिकी सेना तथा इराकका अधिकारीहरू घाइते भएका थिए।

याे पनि पढ्नुस  अमेरिकामा फेरि ह्वात्तै बढ्न थाल्यो कोरोना

समाचारसंस्था रोएटर्सका अनुसार आइतवार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो। उक्त स्थान सिरियानजिकै पर्ने बताइएको छ।

इराकका सुरक्षा निकाय तथा लडाकुहरूले रोएटर्सलाई बताएअनुसार कम्तीमा १८ लडाकुको मृत्यु भएको छ। तीनवटा आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएको बताइएको छ।

याे पनि पढ्नुस  कोरोना फैलाएको भन्दै चीनविरुद्ध मुद्दा हाल्दै अमेरिका

कताइब हिज्बुल्लाह के हो?
इरानको समर्थन रहेको शिया मुस्लिमहरूको मिलिसिया समूह कताइब हिज्बुल्लाह सन् २००७ मा गठन भएको हो।

अमेरिकाका अनुसार उक्त समूहको इरानको कुड्स फौजसँग बलियो सम्बन्ध छ र यसले इरानबाट पटकपटक सहयोग प्राप्त गर्दै आएको छ।

ट्रम्प प्रशासनले कुड्स फौज अमेरिकाप्रति लक्षित विभिन्न आतङ्कवादी समूहलाई लगानी गर्ने, तालिम, हतियार र विभिन्न किसिमका उपकरण दिने इरानी संयन्त्र रहेको आरोप लगाउँदै आएको छ। बीबीसी

कमेन्ट गर्नुहोस्