फागुनदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा

बन्चरेडाँडाः काठमाडौं उपत्यकाको फोहोरमैला आउँदो फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट लैजाने तयारी भएको छ ।

नुवाकोटको ककनी–२, बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको सेल नं। १ माघ अन्तिमसम्म तयार हुने जनाइएको छ ।

आगामी फागुन १ देखि फोहोरमैला व्यवस्थापन गर्न दिने तयारी भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । बन्चरे डाँडा काठमाडौंबाट २७ किलोमिटर उत्तरपश्चिममा पर्छ । विभागका महानिर्देशक मणिराम गेलालका अनुसार तत्काल फोहोर व्यवस्थापनका लागि तयार पार्नुपर्ने भएकाले यो ल्यान्डफिल साइट दुई भागमा विभाजन गरी निर्माण हुँदैछ । पहिलो चरणमा सेल नं। १ मा फोहोर व्यवस्थापन गर्दै सेल नं। २ को बाँकी काम गरिनेछ ।

याे पनि पढ्नुस  काठमाडौंको फोहोर निजी कम्पनीलाई जिम्मा

अब कुनै पनि बहानामा काम नरोकी समयमै निर्माण सम्पन्न गरी व्यवस्थापनका लागि हस्तान्तरण गरिने विभागका अधिकारीहरू बताउँछन् । स्यानिटरी ल्यान्डफिल साइटले बाहिरी क्षेत्रसहित एक हजार सात सय रोपनी जमिन ओगटेको महानिर्देशक गेलालले जानकारी र्दिए। त्यसमध्ये १०४ रोपनी क्षेत्रफल जमिनमा फोहोर फाल्ने सेल बनाइनेछ । जमिनको भागमध्ये ४० प्रतिशत भागमा हाल ल्यान्डफिल साइटको सेल नं। १ तयार हुँदैछ ।

याे पनि पढ्नुस  हप्ताको ४ दिनमात्रै काठमाडौं महानगरले फोहोर उठाउने

यो स्यानिटरी ल्यान्डफिल साइट फोहोरमैलाको वैज्ञानिक प्रणालीमा आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको महानिर्देशक गेलालले बताए । “जमिनमुनिको पानी व्यवस्थित गर्न सबैभन्दा मुनि ट्रेन्च बनाइएको छ । ट्रेन्चमाथि पिबल (गोला ढुङ्गा)लाई जियोटेक्सटायलले बेरेर खाल्डो भरिन्छ । त्यसपछि चिम्ट्याइलो माटोले वाटर प्रुफिङ गरिनेछ । त्यसमाथि पानी नछिर्ने गरी जियोमेम्ब्रेन ओछ्याइने छ ।

त्यसमाथि पिबल राखेर लेदो (लिचेट) पानी निकाल्ने पाइप बिछ्याइन्छ”, उनले भने ।

लुम्बिनी–कोसी–न्यौपाने जेभीले ३५ करोड रुपियाँको लागत सम्झौतामा बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण गरिरहेको छ ।

याे पनि पढ्नुस  फागुन अन्तिम सातादेखि बन्चरेडाँडामा फोहोर विसर्जन गर्न सकिने

राज्यमन्त्रीले नियमित अनुगमन गर्ने
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण आफ्नो मन्त्रालयको प्राथमिकताप्राप्त योजना रहेको बताएका छन् । शुक्रबार निर्माणाधीन ल्यान्डफिल साइट अनुगमन गर्दै उनले समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए । हरेक हप्ता आफू ल्यान्डफिल साइट निर्माणको स्थलगत अनुगमनमा आउने राज्यमन्त्री मानन्धरले बताए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्