काठमाडौंः भारतीय क्रिकेटका अनुभवी बलर इरफान पठानले सबै क्रिकेट प्रारुपबाट सन्यास लिएका छन् । उनले आज क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
इरफानले भारतका लागि २९ टेष्ट, १२० एकदिवसीय र २४ टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । यी सबै प्रारुपमा उनले ३ सय १ विकेट हाफ्नो नाममा लेखाएका छन् ।
इरफानले २००७ को टी–२० विश्वकपमा भारतीय टिमका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो विश्वकपको फाइनलमा उनी ‘म्यान अफ दि म्याच’समेत घोषित भएका थिए । इरफान बलिङसँगै ब्याटिङ पनि राम्रो गर्छन् । उनले टेष्टमा ११०५, वानडेमा १५४४ र टी–२० मा १७२ रन बनाएका छन् ।
टेष्ट क्रिकेटमा इरफानको नाममा एक शतक पनि छ । उनी पछिल्लो समय क्रिकेट खेल्नुभन्दा ‘कमेन्ट्री’मा बढी व्यस्त थिए ।
इरफान जम्मू–कश्मीर टिमका प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिसकेका छन् । उनले अन्तिमपटक आइपीएल २०१७ मा राइजिङ पुणेको टिमबाट खेलेका थिए । त्यसपछि भने उनी ‘अक्सन’मा ‘अनसोल्ड’ भए ।