कञ्चनपुरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले भारतद्वारा आफ्नो नक्सामा समेटिएको दार्चुलाको लिम्पियाधुरा, लिपुलेक क्षेत्र नेपालकै भएकोले यथाशीघ्र विवाद सुल्झाउन पर्ने बताएका छन् ।
प्रेस संगठन नेपाल, कञ्चनपुर शाखाले आइतबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिँदै नेता नेपालले भारतले छिमेकीको मन जित्ने गरी सम्बन्ध कायम गर्नुपर्ने धारणा राखे ।
पुर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भर्खरै शुरु भएको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सबैको सहयोग र सहकार्य आवश्यक रहेको समेत औँल्याए । उनले सन् २०२० मा २० लाख विदेशी पर्यटकहरुलाई नेपालमा स्वागत गर्ने लक्ष्यका साथ शुरु गरिएको महाअभियानलाई नेपाल भ्रमण दशक (२०२० देखि २०३०) का रुपमा मनाउनु पर्ने सुझाव दिए । पर्यटन विकासबाट पनि देशले समृद्घी हाँसिल गर्न सक्ने उनको भनाइ थियो ।
सरकारका कामप्रति सन्तुष्ट भए नभएको बारे पत्रकारहरुले राखेको प्रश्नमा नेता नेपालले सरकारसंग नागरिकका आकांक्षा पर्याप्त हुने हुँदा थोरै उपलब्धिमा सन्तुष्ट भइहाल्ने अवस्था नरहेको बताए । अहिले बहुमत सहितको सरकार भएकोले द्रुतगतिमा काम गरेर देखाउने बेला भएको नेता नेपालको भनाई थियो ।