भारतीय पैसा चल्थ्यो, अहिले चल्न थाल्यो मोटर, बल्न थाल्यो विजुली

बैतडीः  पाँच वर्ष अघि नेपाली मुद्रा समेत नचल्ने बैतडीको तल्लोस्वराड क्षेत्रमा अहिले सरर मोटर चल्न थालेका छन् । सरकारले सडक निर्माणसँगै पिच गर्न दुई अर्ब रुपियाँ र बिजुलीका लागि २० करोड खर्च गरेपछि स्वराडको कायापलट हुँन थालेको छ ।

भारतमा निर्भर बैतडीको स्वराड क्षेत्रका तीन वटा स्थानीय तह सडक सञ्जालसित जोडिएपछि उपभोग्य वस्तु किन्न नेपाली टोपी लुकाएर भारत जानु पर्ने पीडा अन्त्य भएको छ । मैलौली नगरपालिकाले सुर्नया गाडबाट बिजुली उत्पादन गरेर बत्ती बालेको छ ।

महाकालीमा डुङ्गा तरेर भारतबाट दैनिक उपभोग्य वस्तु किन्दै आईरहेका स्वराडवासी गाउँमा सडक पुगेपछि नेपाली मुद्रा चिन्न थालेका छन् । सडक पुगेपछि नेपालबाटै उपभोग्य वस्तु ढुवानी हुन थालेपछि स्वराडवामा बल्ल नेपाली मुद्रामा कारोबार सुरु भएको हो ।

पाटन–पञ्चेश्वर सडक निर्माणसंगै कालोपत्रे हुन थालेपछि स्वाड क्षेत्रमा अहिले कैलाली र कञ्चनपुरबाट दैनिक सिधा बस सेवा संञ्चान हुन थालेका छन् । पाटन–पञ्चेश्वर सडकसँगै देहिमाडौं–गिरेगाडा सडक खण्ड कालोपत्रे सुरु भएपछि पञ्चेश्वरमा दुई ठाउँबाट एकैसाथ कालोपत्रे सडक पुग्दै छन् ।

याे पनि पढ्नुस  उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा समेत अवरुद्ध

पाटन–पञ्चेश्वर ६५ किलोमिटर सड निर्माणसंगै कालोपत्रे गर्न नेपाल सरकारले एक वर्षमै डेढ अर्ब रुपियाँ खर्च गरेर सडक कालोपत्रे गर्न थालेको छ । त्यसै गरि बैतडी सदरमुकामबाट निकै छोटो पर्ने ४० किलो मिटर देहिमाडौं–गिरेगाडा सडक पहिलो १५ किलोमिटरमा कालोपत्रेको ठेक्का भएर काम सुरु भएको छ ।

एक नगरपालिका र दुई गाउँपालिका गरि तीन स्थानीय तहमा विद्युत पुर्याउन सरकारले २० करोड रुपियाँ बजेट बिनियोजित गरेपछि धमाधम बिजुलीका पोल गाडिन थालेका छन् ।

बैतडीको स्वराड क्षेत्रमा बिजुली पुर्याउन बैतडीको पाटन र मेलौलीमा २० करोड रुपैयाँमा सबस्टेशन निर्माण भईरहेको विद्युत वितरण केन्द्र अत्तरियाका प्रमुख सतिश कर्णले जानकारी दिए ।

भारतपारि झिलिमिली बिजुली देखेका स्वराडवासीको घर आँगनमै नेपाल सरकारले धामाधम बिजुलीका पोल गाड्न थालेपछि स्वराडवासीको मुहार उज्यालाे हुन थालेको छ ।

यो वर्ष ७५ करोड रुपैयाँ खर्च गरेर पाटनदेखि मेलौली नगरपालिकासम्म ३३ किलोमिटर सडक धमाधम कालोपत्रे भईरहेको छ । ३३ मध्ये १३ किलोमिटरमा कालोपत्रेको काम सकिएको र बाँकी काम असारभित्रै सक्न द्रुत गतिमा काम चलिरहेको सडक पिच गर्ने ठेक्का पाएको ग्वाल्लेक निर्माण सेवाले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  बलात्कारपछि हत्या गरिएको अवस्थामा किशोरीको शव फेला

मेलौलीदेखि शिवनाथ गाउँपालिका हुँदै पञ्चेश्वर गाउँपालिकाको पञ्चेश्वरसम्म सडक निर्माण र पिच गर्न ८२ करोड रुपियाँ थप बजेट आएपछि ठेक्का आह्वान गर्ने तयारी भईरहेको पूर्वाधार विकास कार्यालय बैतडीले जानकारी दिएको छ ।

बैतडीको स्वराड क्षेत्रका स्थानीय बल्ल नेपालसित जोडिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमखु ईन्जिनियर जगतप्रसाद जोशीले बताए । ६५ किलो मिटर सडक दोब्बर चौडा गरेर साढे पाँच मिटर कालोपत्रे भईरहेको ईन्जिनियर जोशीले बताए । सडक पुगेपछि परनिर्भरता हटेको जोशीले बताए ।

दुई वर्षको अवधिमा बैतडीको तल्लोस्वराड क्षेत्रमा स्थानीयले अपेक्षा गरे अनुसार विकास हुन थालेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । संघीय र प्रदेश सरकारले पाटन–पञ्चेश्वर सडक र बिजुलीको सपना पूरा गरेपछि गाउँपालिकाले प्रत्येक वडामा ग्रामीण सडक निर्माण सम्पन्न गरेको अध्यक्ष चन्दले बताए ।

याे पनि पढ्नुस  पाटनमा वृद्ध मृत अवस्थामा फेला

३४ वर्ष अघि निर्माण सुरु भएको पाटन पञ्चेश्वर सडक बन्न लोकतन्त्र र स्थायी सरकार नै पर्खिनु परेको अध्यक्ष चन्दले बताए ।

अध्यक्ष चन्दले भने, ‘स्वराडवासीले पटक पटक सडक र बिजुलीको माग गर्दै आए पनि सुनुवाई भएको थिएन । बल्ल स्वराडको कुरा सुन्ने सरकार आएको छ । अबको दुई वर्षमा छिमेकी भारतका गाउँभन्दा पञ्चेश्वर गाउँपालिकाका गाउँमा लोभलाग्दो विकास हुनेमा ढुक्क भएका छौं ।”

मेलैली नगरपाकिला, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा एक वर्षअघिनै सडक पुगे पनि धुलो र हिलोका स्थानीय कारण कष्टकर यात्रा गर्दै गर्दै आईरहेका थिए । सडक पिच हुन थालेपछि अब हिलो र धुलोको पीडा अन्त्य हुन थालेको मेलैली नगरपालिकाका स्थानीय वीरेन्द्र चन्दले बताए । –गाेरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्