धनगढीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा योग्यता र क्षमताका आधारमा कार्यकर्तालाई जिम्मेवारी दिनुपर्ने बताएका छन् ।
पुष्पलाल मञ्च नेपालद्वारा आइतवार धनगढीमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन, सङ्घीयता र समृद्धि’ विषयको कार्यक्रममा उनले पार्टीभित्र गुटउपगुट बनाई कार्यकर्तालाई हेप्ने र पछाडि पार्ने प्रवृत्ति देखिएको तथा योग्यता र क्षमता भएका व्यक्तिमाथि अपमान भइरहेको टिप्पणी गरे ।
नेता नेपालले पार्टीमा हाटहुटे व्यक्ति हावी भएमा पार्टी सकिने बताउँदै सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार गरेर अघि बढ्नुको विकल्प नभएकामा जोड दिए । ‘पार्टीमा एउटै गल्ती गर्दा कसैलाई फसाउने, कसैलाई पूजा गर्ने प्रवृत्ति बढेको छ, नियमकानून सबैलाई बराबर लागू हुनुपर्छ, कसैलाई पाखा त कसैलाई काखी गरिनुहुन्न,’ उनले भने ।
उनले एमसिसी अनुदान सहयोग नेपालको हित विपरीत भएको जिकिर गर्दै त्यसमा रहेका केही बुँदा सच्याउनुपर्ने बताए ।