काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत पर्थ स्कोरचर्सविरुद्ध होबार्ट हरिकेन्सका ओपनर ब्याट्सम्यान डार्सी सर्टले शतक बनाएका छन् । उनले ७० बलमा ७ छक्का र ३ चौकाको मद्दतमा अविजित १ सय ३ रन बनाए ।
जारी लिगमा डार्सी शतक बनाउने पहिलो क्रिकेटर बनेका छन् । उनकै शतकमा होबार्टले स्कोरचर्सलाई १ सय ८१ रनको बलियो लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको होबार्टले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८० रन बनायो ।
उसका लागि डार्सीको शतकसँगै कालेब जेवेलले २५, डेवि मिलरले १५ र कप्तान बेन म्याकडर्मोटले अविजित २० रनको योगदान दिए । बलिङमा पर्थका फवाद अहमद र लायम लिभिङस्टोनले एक–एक विकेट लिए ।
जारी प्रतियोगितामा होबार्टले ६ खेलमा ३ मा हार र २ खेलमा जित हासिल गरेको छ । र, होबार्ट अंक तालिकामा सातौं स्थानमा छ । यता पर्थ ५ म्याचमा २ मा जित र ३ खेलमा हारको सामना गरेको छ । मेलबर्न स्टार्स ६ खेलमा ५ मा जित हासिल गर्दै १० अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।