काठमाडौंः चर्चित सुडान घोटाला काण्डका दोषी शम्भु भारती कारागारबाट जेलमुक्त भएका छन् ।
सर्वोच्च अदालतले थुना बाहिरै बसेर मुद्दाको पुनरावलोकन गर्न दिने सुविधा दिएपछि भारती डिल्लीबजार कारागारबाट छुटेका हुन् ।
डिल्लीबजार कारागारकी निमित्त जेलर सिता अधिकारीका अनुसार अदालतको पत्रअनुसार भारतीलाई थुनामुक्त गरिएको हो । भारतीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले ललितपुरस्थित निवासबाटै १२ भदौमा पक्राउ गरेको थियो ।
यसअघि सर्वोच्च अदालतले नै भारतीलाई १४ करोड २० लाख रुपैयाँ विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो ।
भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए । यही कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको सार्वजनिक भएको थियो ।