नेकपाभित्रको बहसः के चाहन्छन् अध्यक्ष प्रचण्ड ?

सभामुख चयनका लागि नेकपाभित्र चलिरहेको संघर्ष कुनै व्यक्ति विशेष भन्दा पनि प्रवृत्तिको रहेको छ । बाहिर हेर्दा अमूक व्यक्तिका लागि भन्ने देखिएपनि यसको अन्तर्यमा भने अग्रगामी या यथास्थिति पक्षधरको संघर्ष नै मुख्य हो ।

यति मात्रै नभएर यो संघर्षले दुई फरक वैचारिक धारको समेत प्रतिनिधित्व गर्दछ । एउटा धारले सारमा बिसर्जनवादको पक्ष लिन्छ । यथास्थितिमा नै रुमल्लिने अवसरवादको पक्ष लिन्छ । संसदवादलाई प्रधानता ठान्ने र वर्ग संघर्षको ठाउँमा वर्ग समन्वय, राष्टियताको स्थानमा समर्पणवादको वकालत गर्दछ । अर्को पक्षले नेपाली समाजलाई फेरी एउटा धक्का दिन चाहन्छ । संसदवाद भन्दा माथि, नेपाली राजनीतिक क्रान्तिका पुरा हुन नसकेका कार्यभार पुरा गर्दै अझ उन्नत राजनीतिक प्रणाली स्थापनाको पक्षधरता लिन्छ ।

र, स्पष्ट नै छ, यो दोश्रो धारको प्रतिनिधित्व पूर्व माओवादी वैचारिक धारले गर्दछ । पूर्व एमाले समूहले धक्का या अग्रगामी परिवर्तनलाई त्यति पचाउँदैन । उसका लागि सुधारवाद नै माक्र्सवाद हो । उसको समाजवाद बढीमा यूरोपियन मोडेलको लोक कल्याणकारी मान्यतामा आधारित राज्यव्यवस्था हो । ढुलमुले संशोधनवाद उसको वैचारिक पक्ष हो ।
र, यसकै वरिपरि सभामुखको रस्साकस्सी चलिरहेको छ ।

सभामुखको बहसमा यो वा त्यो समूहको बहस सतहमा देखिएको मात्रै हो । मुख्य कुरा दुई फरक वैचारिक धारबीच एक अर्कालाई समन्याय गर्ने कि नगर्ने भन्ने विषय हो । व्यक्ति या गुट भन्दा पार्टी र पार्टीको भविष्य प्रधान हुन्छ कि हुन्न भन्ने हो । सहमति पालना गर्ने राजनीतिक इमान्दारिता या गतिरोध उत्पन्न गर्दै शक्तिको जुँगे लडाई बढाउने भन्ने हो ।

याे पनि पढ्नुस  ३० दिनभित्र सापकोटाविरुद्धको विवरण पठाउन आदेश

पूर्व एमाले वैचारिक धारका लागि यो प्रवृत्ति नयाँ भने होइन । पार्टी एकतापछिका उसका अडानहरु हेर्दा समेत कतिपय विषयमा उसले अनावश्यक अडान राखेर पार्टीलाई गतिशीलताबाट पर राखेका कैयन् घटनाहरु छन् । अप्ठ्यारोमा पर्दा सहमति गर्ने तर सहजतामा त्यसमा इमान्दार नरहने प्रत्यक्ष उदाहरण दुई अध्यक्षबीचको कार्यविभाजनको थियो । पार्टी एकताका क्रममा जे जसरी एकता भएपनि व्यवहारमा एकल अध्यक्षको अभ्यास भएपछि यसले लामो समय पार्टीका काम कारवाही अघि बढन सकेनन् । न त पार्टी एकताले नै पूर्णता पाउन सक्यो । अहिले सभामुखमा करिब करिब त्यही अवस्था सिर्जना हुन खोजेको छ ।

वैचारिक धारको नेतृत्वकर्ताका हिसाबले प्रचण्डले लिने अडानहरु उनको व्यक्तिगत नाफा हानीभन्दा पनि समग्र संगठन र आन्दोलनसँग जोडिदै आएको उनका बिरोधीहरु पनि स्वीकार गर्न सक्छन् । स्वयम् प्रचण्डकै शब्दमा पनि उनलाई यथास्थितिमा कुँजिएर बस्न मन पर्दैन । उनी गतिवान हुन चाहन्छन् । र यो गति व्यक्तिगत गति नभएर पार्टी र संगठन, आन्दोलन र जनतालाई एक कदम अगाडि लैजाने गति हुन्छ । नेकपा एमालेसँग पार्टी एकतादेखि आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमतिलाई समेत प्रचण्डले यही गतिशीलतामा लिएको देखिन्छ ।
यदि उनले पनि पूर्व एमाले वैचारिक समूहको प्रवृत्तिजस्तै व्यवहार देखाएको भए यसले न पार्टी एकता हुन्थ्यो, न नेपालमा वामपन्थीहरुको स्थिर सरकार बन्थ्यो न त अहिलेको परिस्थिति सिर्जना हुन्थ्यो । पार्टी एकतापछि समेत आलोपालो सहमतिको सहमतिमा नै उनले अडान लिइ नै राखेको भए यसले सरकारको नेतृत्व र पार्टीभित्र गतिशील परिस्थिति सिर्जना हुनसक्थ्यो ।

याे पनि पढ्नुस  यसकारण प्रचण्डले पद होइन एकढीक्का पार्टी खोजेका छन्

तर उनले जडतामा देशलाई बन्धक बनाइराख्नु भन्दा आलो पालोको सहमतिको साटो आफूले पार्टी र संगठनमा ध्यान दिने निर्णय गरे । किनभने यसो नगर्नुको अर्थ संगठन छिन्नभिन्न हुनु हुन्थ्यो । यसको अर्थ सरकार वामपन्थीको भएपनि जनतासँग पार्टी नजोडिंदा त्यसको अन्ततः असर सरकारकै प्रभावकारितामा पथ्र्यो । यो विषयलाई खाली पदसँग जोडेर हेर्नेहरुले कति बुझ्लान, तर उक्त निर्णय ठूलो वैचारिक र सैद्धान्तिक अर्थको रहेको छ ।

अहिले सभामुख चयनमा समेत त्यही प्रकृतिको प्रवृत्ति देखाएको छ । सदनलाई बन्धक राखेर, जनतासँग जोडिने थलोलाई प्रभावहीन पारेर उनीहरुले व्यक्तिलाई अघि सार्दै अनावश्यक बखेडा झिकेका छन् । पार्टी एकताका क्रममा भएको राजनीतिक सहमतिलाई यो वा त्यो रुपमा बाधित गर्न खोजेका छन् ।

याे पनि पढ्नुस  पश्चगमनको आँधी, प्रतिरोधकाे जिम्मा प्रचण्डको काँधमा

प्रचण्डका अगाडि सिँगो पार्टी र आन्दोलनले उब्जाएका यक्ष प्रश्न हल गर्ने चुनौती बाँकी छ । अहिले पनि सपना देखेका हजारौं जनताले आफ्ना सपनाको मूल्य खोजिरहेका छन् । यी सपनाको मूल्य स्थिर र जनपक्षीय सरकार, प्रभावकारी सदन र बलियो जनसंगठनबाट मात्रै पुरा हुन सक्छन् । यो पक्षलाई ध्यानमा नदिएर प्राविधिक झिना मसिना कुरामा अल्झिने र अन्ततः सारसंग्रहवादमा फसेर संसदवादलाई नै निरन्तरता दिने काम भइरहेको छ । यसतर्फ गम्भीर ध्यान दिनु जरुरी छ ।

अग्रगमन र पश्चमगमन, यथास्थिति र प्रगतिशीलता, संसदवाद र जनपक्षधरता, वर्ग संघर्ष र वर्ग समन्वयको यो लडाईमा प्रचण्ड अघि बढेका छन् । सभामुखलाई व्यक्तिका अर्थमा हेरिएपनि या अन्ततः यो एउटा वैचारिक विषय बन्न पुगेको छ । पार्टीका निर्णय, निर्णयहरुको पालना, सहमति र इमान्दारिताको अन्र्तसम्बन्ध जस्ता विषयहरुमा कस्तो प्रवृत्तिको विकास गर्ने भन्ने विषय सोझो रुपमा आन्दोलनको रुप र भविष्यसँग जोडिएको हुन्छ । यसलाई बुझ्न हल गर्न यसको यही अन्तर्य बुझ्नु जरुरी छ ।

कमेन्ट गर्नुहोस्