मनाङमा निरन्तर हिमपातः तापक्रम माइनस १५ डिग्री!

मनाङः हिमाली जिल्ला मनाङको मानव वस्ती क्षेत्रमा चार दिनदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले मानिस वल्लो गाउँ–पल्लो गाउँ गर्न सकिरहेका छैनन् । हिमपातको कारण मानिसहरू घरबाहिर समेत निस्कन सकेका छैनन् ।

मनाङ ङिस्याङ गाउँपालिका–१ माथिल्लो पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार माथिल्लो क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ । वस्ती क्षेत्रमा छिनछिनमा हिमपात भइरहेको छ । घरभित्रै आगो बालेर बसिरहेका छन् । चिसो अत्याधिक छ, मानिस हिँडेको कोही देखिएको छैन ।

याे पनि पढ्नुस  यस वर्ष यार्सागुम्बा टिप्न प्रतिबन्ध

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले पैदल बाटो र गाडी हिँड्ने बाटोमा हिउँ जमेको बताए । वस्तीमै हिउँ जमेपछि चिसो बेस्सरी बढेको उनले बताए । स्थानीयका अनुसार चिसो अत्याधिक बढ्दा धारामा खानेपानी आउन छाडेको छ । हिउँ पग्लाएर खानेपानी तयार पार्नु परेको स्थानीयले बताएका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले मनाङको तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झरेको बताए । उनले आइतबार अलि–अलि घाम लाग्दा समेत दिउँसोको तापक्रम माइनस ६ डिग्री सेल्सियस रहेको बताए। ‘चिसो बेस्सरी छ । बाहिर निस्कन सकेको अवस्था छैन । कार्यालयमा जान आउन पनि मुस्किल भो’ उनले भने, ‘बजार क्षेत्र सबै सुनसान छ । सडकभरी हिउँ जमेको छ । डाँडामा हिमपात भइरहेको छ ।’

याे पनि पढ्नुस  चीनले मनाङमा अस्पताल बनाउन ३५ कराेड बढी दिने

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक ब्रिजबहादुर गुरुङले बिहीबार हिमपात भएपछि गन्तब्यमा पर्यटक नगएको बताए । उनले भने, ‘हिमपात भइरहँदा पर्यटक असुरक्षित हुन्छन् । गन्तब्यमा पुग्न गाह्रो हुन्छ । हामीले हिमपातको बेला पर्यटक गन्तब्यमा नजान र सुरक्षित रहन भनेका छौं ।’

याे पनि पढ्नुस  नेपालमा प्रवेश गर्‍यो पश्चिमी वायू, फेरि वर्षा र हिमपात

मनाङमा तल्लो क्षेत्रको नासों गाउँपालिका ९ दानाक्युदेखि माथि हिमपात भइरहेको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार दानाक्युदेखि सदरमुकाम चामे र चामेदेखि माथिल्लो मनाङ क्षेत्रको पदमार्ग साथै मोटरबाटो अवरुद्ध छ ।

कमेन्ट गर्नुहोस्