सर्लाहीः घरबाट हराएको ४ दिनपछि सर्लाहीको वागमती नगरपालिका–५ टेकानकी एक युवतीको शव भेटिएको छ ।
आज (सोबार) बिहान वागमती खोलाको बगरमा अन्दाजी २५ वर्षीया पूर्णिमा मोक्तानको शव भेटिएको हो ।
पुस १८ गते राति घरबाट मेला हेर्न भनेर गएकी छोरी चार दिनसम्म घर नफर्किएपछि परिवारले छोरीको खोजी गरिदिन प्रहरीमा खबर गरेका थिए । सोमबार बिहान स्थानीयले वागमती नदीको काँस घारीमा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठौरका अनुसार घटना स्थलको अवस्था हेर्दा युवतीलाई कसैले हत्या गरेर खोलाको बगरमा लगेर फालेको जस्तो देखिएको छ । मृतक युवतीले लगाएको सुरुवाल फुकालिएकाले बलात्कारपछि हत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।
हत्याको आशंकामा प्रहरीले राजघाट टेकानी घर भएका एक बोलेरो चालकलाई महोत्तरीबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । युवतीको शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।