काठमाडौंः महानगरीय अपराध महाशाखाले हट्सप वुई च्याट मार्फत अवैध हुण्डीको कारोबार गर्ने चार जनालाई काठमाडौंको न्यूरोडबाट पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकामै गैरकानुनी रुपमा राजस्व छलेर हुण्डीको काम भैरहेको सूचनाको आधारमा महाशाखाको टोलीले सोमबार साँझ चार जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिहरुवाट नगद, चेक रकम,विभिन्न बैंकका हस्ताक्षर राखिएका चेकबुक, व्हाट्सएप, वी च्याट मार्फत अवैध हुण्डीको कारोबार सहितको विवरण बरामद गरि चार जनालाई पक्राउ गरेको हो ।
महाशाखाको टोलीले काठमाडौं–२४ इन्द्रचोक इ–जोन पसलको सेल्फ स्टाफ गोपाल अग्रवाल, ई जोन पसलका कर्मचारी सिन्धुपाल्चोक मेलम्चीका ३१ बर्षका भोला नेपाललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९ लाख ५० हजार नगद तथा विभिन्न बैंकबाट चेक रकम ६४ लाख ९९ हजार रुपैयाँ बरामद गरेको हो ।
काठमाडौं ताहाचलका एनएस ट्रेडस भोटेवहालका संचालक कमल अग्रवालको साथबाट २ लाख नगद तथा १४ लाख बरामद गरेको छ । सुनसरी धरान–२ का नारायणकुमार अग्रवाललाई नियन्त्रणमा लिइएको छ ।
महानगरीय प्रहरी महाशाखाका एसएसपी सहकुल थापाले अवैध हुण्डी कारोबार गर्ने चार जनासँग १३ लाख ५२ हजार नगद, बैक रकम ७८ लाख ९९ हजार गरि ९२ लाख ५१ हजार बरामद गरेको बताए । पक्राउ परेका चार जनाको अनुसन्धान सुरु भइसकेको र थप कारवाहीका लागि राजस्व तथा अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको एसएसपी थापाले बताए ।