विद्यार्थीको चेतावनीः कलेजले असुलेको बढी रकम फिर्ता नगरेसम्म तोकिएको शुल्क नतिर्ने

काठमाडौंः कलेजले बढी असुलेको रकम फिर्ता नगरेसम्म तोकिएको शुल्क पनि नतिर्ने चितवन मेडिकल कलेजका विद्यार्थीले चेतावनी दिएका छन् । भदौ पहिलो सातादेखि कलेजमा तालाबन्दी गरेर पढाइ र परीक्षा बहिष्कार गर्दै आएका उनीहरूले न्याय नपाएपछि आन्दोलनको स्वरूप बदलेका हुन् । पढाइलाई निरन्तरता दिन विद्यार्थीले मंगलबार तालासमेत खोलेका छन् ।

‘हामीले पढाइलाई निरन्तरता दिन पाँच महिनापछि ताला खोलेका छौँ । तर, यसको अर्थ आन्दोलन छाडेको भन्ने होइन,’ चिकित्सा शिक्षा संघर्ष समितिका सदस्य एवं सिएमसीका विद्यार्थी प्रवीण लामाले भने, ‘हाम्रो माग पूरा नभएसम्म सरकारले तोकेको रकम पनि कलेजलाई एक रुपैयाँ तिर्दैनौँ । अब हाम्रो आन्दोलन पढाइसँगै अगाडि बढ्छ ।’ आफूहरू अब प्रयोगात्मकलगायत वार्षिक परीक्षाको तयारीमा लाग्ने उनले बताए । यसअघि प्रवेशपत्र जलाएर उनीहरूले वार्षिक परीक्षा नै बहिष्कार गरेका थिए ।

याे पनि पढ्नुस  छात्राबासका सहयोगीको कुटपिटबाट विद्यार्थीको मृत्यु

आठ संकायका विषयको पढाइ हुने सिएमसीमा सबै विद्यार्थीसँग कलेजले तोकेभन्दा बढी शुल्क असुलेको छ । तर, १० मंसिरमा सञ्चालकसँग सहमति गर्दै सरकारले एमबिबिएस र बिडिएसका विद्यार्थीको पहिलो र दोस्रो वर्षका अतिरिक्त शुल्क मात्रै फिर्ता या समायोजन गर्ने जनाएको थियो । सरकारले सञ्चालककै पक्षपोषण गर्दै विद्यार्थीलाई थप अन्याय गरेको भन्दै विद्यार्थीले आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् । नर्सिङ, बिपिएच, बिएमएलटी, बिएमआइटी, फार्मेसीलगायत विषय पढ्ने विद्यार्थीसँग असुलेको बढी शुल्क पनि फिर्ता गर्न उनीहरूको माग छ । यी विषयमा छात्रवृत्ति पाएका विद्यार्थीसँग ६ लाख र अन्यसँग १३ देखि २० लाखसम्म अतिरिक्त शुल्क कलेज प्रशासनले असुलेको विद्यार्थी बताउँछन् ।

याे पनि पढ्नुस  चितवन मेडिकल कलेज परिसरमा पेस्तोल भेटियो

‘एमबिबिएस र बिडिएस संकायका विद्यार्थी मात्रै ठगिएको होइन, कलेजमा पढाइ हुने आठवटै संकायका विद्यार्थीको ०७२/७३ देखिको रकम फिर्ता वा समायोजन हुनुपर्छ,’ एमबिबिएस चौथो वर्षमा अध्ययनरत असीम अख्तरले भने । अहिलेसम्म सबै विद्यार्थीसँग ५६ करोड बढी ठगी भएकोमा सात सय विद्यार्थीको ३२ करोड फिर्ता गर्नुपर्ने र २२ करोड समायोजन हुनुपर्ने विद्यार्थीले जनाएका छन् ।

अभिभावकहरूले पनि संघर्ष समिति बनाएर विद्यार्थीको आन्दोलनमा साथ दिँदै आएका छन् । उनीहरूले कलेज प्रशासनसँग मात्र नभई बुद्धिजीवी, नागरिक अगुवा र स्वयं विद्यार्थीसँग अन्तक्र्रिया गर्दै आएका छन् ।

कलेजका प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले भने ०७५/७६ अघिका विद्यार्थीसँग बढी शुल्क नै नउठाएको दाबी गरे । ०७५/७६ पछिका एमबिबिएसतर्फका ९० र बिडिएसतर्फका ३६ विद्यार्थीको रकम मात्रै समायोजन गर्नुपर्ने उनको दाबी छ । उनीहरूको त्रिवि रजिस्ट्रेसन शुल्क, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने परीक्षा शुल्क, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्कलगायतमा कट्टा गरी रकम समायोजन गर्न तयार रहेको उनले बताए ।

याे पनि पढ्नुस  चितवन मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

तर, विद्यार्थी भने पहिलो र दोस्रो वर्षका विद्यार्थीको अतिरिक्त शुल्क समायोजनमा परीक्षा शुल्क दुई हजार पाँच सय, त्रिवि दर्ता शुल्क पाँच सय र नेपाल मेडिकल काउन्सिल दर्ता शुल्क तीन हजारबाहेक अन्य शुल्क जोड्न नपाउने बताउँदै आएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्