एजेन्सीः इराकस्थित दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गर्दा ८० जना अमेरिकी सेना मारिएको इरानले दावी गरेको छ ।
इरानको टेलिभिजनहरु मार्फत इरानको क्षेप्यास्त्र आक्रमणबाट अमेरिकी सैनिकहरु मारिएको सरकारी दावी प्रशारण भइरहेको छ । स्थानीय समयअनुसार बिहान १ः३० बजे उक्त आक्रमण भएको थियो ।
अमेरिकाले भने इरानको दावी अस्वीकार गरेको छ । तर, अमेरिकी रक्षा मन्त्रालयले इराकस्थित इरबिल र अल असदस्थित अमेरिकी सैन्य अखडामा आक्रमण भएको पुष्टि भने गरेको छ ।
‘हामीले इराकस्थित अमेरिकी आधार शिविरहरूमा भएका हमलाबारे थाहा पाएका छौँ । राष्ट्रपति राष्ट्रिय सुरक्षा समूहसँग समन्वयमा छन्,’ ह्वाइट हाउस प्रवक्ताले भनेकी छन् । आक्रमणलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । तर, समय भने टुंगो लागिसकेको छैन ।
शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सोलिमानी मारिएको बदलामा इरानले अमेरिकी अखडामाथि आक्रमण गरेको हो ।