काठमाडौंः नेपालमा बसेर चीनविरुद्ध गतिविधि गरेको आरोप लागेका १२२ जना चिनियाँलाई बुधबार चीन फकाइँदैछ । उनीहरुलाई लिन बुधबार चीनका दुईओटा विमान नेपाल आएका छन् ।
गृहमन्त्री रामबहादुर थापासहितको टोली यतिबेला चीन भ्रमणमा छ । गृहमन्त्रालयको टोलीले चिनियाँ सरकारसँग वार्ता गरेपछि नेपालमा पक्राउ परेका चिनियाँ नागरिक फिर्ता पठाउने प्रकृया अघि बढेको हो ।
चिनियाँ दूतावासले उनीहरुलाई चीन प्रवेशको अनुमतिपत्र अध्यागमन विभागलाई बुझाइसकेको छ । उनीहरुलाई लिन चाइना साउदर्न र चाइना इस्टर्नका दुईओटा विमान काठमाडौं आएको हो । ती विमानबाट उनीहरुलाई साँझ चीन लगिने छ ।
चाइना साउदर्नको विमानमा ८० जना र चाइना इस्टर्नको विमानमा ४२ जनालाई राखेर लगिनेछ । पक्राउ परेकामध्ये ६७ जनासँग पासपोर्ट थिएन । चिनियाँ दूतावासले ‘इन्ट्री डकुमेन्ट’ अध्यागमन विभागलाई उपलब्ध गराएको हो ।
पुस ७ गते काठमाडौंका विभिन्न स्थानमा चिनियाँहरू पक्राउ परेका थिए ।