पर्यटक भित्र्याउन नगरकोट महोत्सवको आयोजना

काभ्रे। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने प्रमुख पर्यटकिय स्थल नगरकोटमा पर्यटन वर्ष-२०२० लाई सफल पार्न महोत्सवको आयोजना गरिएको छ।

पर्यटक भित्र्याउन राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विभिन्न कार्यक्रम गरि प्रचारप्रसार गरिरहोका बेला नगरकोट नाल्दुम पर्यटन विकास समितिले सोनाम ल्होछारको अवसर पारेर आउँदो माघ १० गते देखि १२ गतेसम्म नगरकोट महोत्सव गर्ने भएको हो।

“प्राकृतिक सम्पदा, कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति” भन्ने मुल नाराको साथ मनाउन लागिएको उक्त महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु चन्द्र कुमार दोङ, इन्दिरा गोले, विशाल काल्देन, शशिकला मोक्तान, अनिश योन्जन, बबिता पाख्रिन, सरोज लामिछाने, प्रभात दोङ, कमला दोङ, स्मृति गौतम, राजेश ढकाल, सृजना हुमागाई, वाङछुराज वाइबा, अदित्य स्याङबो, सम्बर लामा, मुस्कान योञ्जन, जमुना योञ्जनको साथमा लोकप्रिय टिभी कार्यक्रम इन्द्रेणीका कलाकारहरुको बिजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।

महोत्सवमा स्थानीय मौलिक पहिचान झल्किने विभिन्न प्रस्तुतिहरुको समेत प्रदर्शन हुनेछ । लोपोन्मुख बाजा, पहिचानलाई अझ यस महोत्सवले थप उजागर गर्दै स्थानीय खानाका परिकारहरुको समेत प्रदर्शन गरि पर्यटकहरुको आकर्षक गन्तव्य बनाउने नगरकोट नाल्दुम पार्यटन विकास समितिका प्रवक्ता रोहित मोक्तानले जानकारी दिए ।

काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर जिल्लावाट २० कि.मी. पूर्वमा अवस्थित रहेको नगरकोट समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ ।

गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ। यहाँवाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखला मनास्ललु,गणेश हिमाल, लाङटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल रहेका छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन साथै सुर्य अस्थका लागि पनि प्रसिद्ध छ ।

नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन् ।मुख्य पर्यटकिय स्थल भने काभ्रेको मण्डनदेउपुर नगरपालिका र भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका को दोसाधमा रहेको छ,पानी ढलोको सिमा व्यवस्था रहेकोले नगरकोटको उच्चतम विन्दुमा यी दुई जिल्लाहरूको संगम रहेको छ।

महोत्सवलाई चाँगुनारायण नगरपालिका, मण्डन देउपुर नगरपालिका, नेपाल सैनिक वार कलेज, नेपाल भ्रमण वर्ष २०२० सचिवालय, दाउरा बिसाउना सामुदायिक वन उपभोक्ता समुह लगायतले सहयोग गर्ने भएका छन् ।

पर्यटन वर्षमा गत वर्षहरुमा भन्दा धेरै पर्यटकहरु भित्र्याउनको लागि पनि महोत्सवको तयारी गरेको आयोजकको भनाइ छ।

कमेन्ट गर्नुहोस्