काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर सन्तोष शाहुखलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कीर्तिमानी १०० गोल पूरा गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै सन्तोषले नेपाली फुटबलकै माथिल्लो श्रेणीको लिगमा १०० गोलको कोशेढुंगा पूरा गरेका हुन् । यो दुर्लभ उपलब्धि हासिल गर्न उनले १६ वर्ष लामो तपस्या गरेका छन् ।
यो सिजन च्यासल युथ क्लबबाट लिग खेलिरहेका सन्तोष ‘ए’ डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बने । सन्तोषले खेलको १७ औं मिनेटमा गोल गर्दै आफ्नो नाममा कीर्तिमान लेखाएका हुन् । उनी अहिले च्यासल फुटबल क्लबका कप्तान समेत हुन् । यस सिजनमा उनको यो चौथो गोल हो ।
२०६० सालदेखि लिग खेल्न सुरु गरेका साहुखल नेपाली लिगका सर्वाधिक गोलकर्ता हुन् । थ्रीस्टारबाट आफ्नो लिग यात्रा सुरु गरेका उनले डेब्यू खेलमै गोल गरेका थिए ।
लिगमा सन्तोषको गोल:
२०६०ः ६ गोल (थ्री स्टार)
२०६१ः ६ गोल (एपीएफ)
२०६२ः ९ गोल (थ्री स्टार)
२०६३ः ११ गोल (थ्री स्टार)
२०६६–६७ः १९ गोल (थ्री स्टार)
२०६८ः १६ गोल (मनाङ)
२०६९ः १७ गोल (थ्री स्टार)
२०७०ः ९ गोल (थ्री स्टार)
२०७५ः ३ गोल (च्यासल)
२०७६ः ४ गोल (च्यासल) खेल जारी