काठमाडौंः इराकमा रहेका अमेरिकी सैनिकहरूका दुईवटा अखाडामा बलिस्टिक क्षेप्यास्त्र प्रहार भएको घटनापछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ ।
एशियाली कारोबारको मध्यमा ब्रेन्ट क्रुड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा १.४५ ले वृद्धि भइ प्रति ब्यारेल ६९.२१ डलर पुगेको छ । सुन तथा जापानी मुद्रा येन जस्ता सुरक्षित लगानी मानिने बस्तुको मूल्यपनि हमलाको समाचारपछि बढेको छ ।
तर मध्यपूर्वमा द्वन्द्व चर्कने चिन्ता बढिरहँदा विश्वव्यापी शेयर मूल्यमा भने कमी देखिएको छ । जापानको बेञ्चमार्क निक्केई २२५ स्टकको सूचकांक १.३५ ले घटेको छ भने हंगकंगमा हांगसेंग ०.८ प्रतिशतले खस्केको छ ।
इरानको सरकारी टेलिभिजनले भनेको छ देशका एकजना वरिष्ठ कमाण्डर कासिम सुलेमानीको हत्याको बदलामा ती हमलाहरू गरिएका हुन् । गत शुक्रवार अमेरिकी ड्रोन हमलामा मारिएका सुलेमानीको मंगलवार अन्तिम संस्कार सम्पन्न भएको केही घण्टापछि नै ती आक्रमणहरू गरिएका हुन् ।
उनको मृत्युपछि नै अमेरिका र इरानबीचको द्वन्द्व थप खराब अवस्थामा पुग्नसक्ने भनी चिन्ता व्यक्त भएका थिए । त्यस्तो द्वन्द्व बढेमा संसारको सबैभन्दा व्यस्त मानिने होर्मुजको समुद्री मार्गमा जहाजबाट गरिने परिवहन प्रणालीमा अवरोध पुग्न सक्नेछ । खाडीलाई अरब सागरसँग जोड्ने उक्त जलमार्ग भएर संसारको तेल आपूर्तिको पाँच भाग मध्ये एक भाग ओसारपसार हुने गर्दछ ।
खाडी क्षेत्रमा रहेका प्रमुख तेल निर्यातकर्ताहरूकालागि होर्मुजको जलमार्ग निकै महत्त्वपूर्ण रहेको छ । साउदी अरब, इराक, यूएई र कुवेत जस्ता तेल निर्यातकर्ताहरूको अर्थतन्त्र नै तेल र खनिज ग्यास उत्पादनमा निर्भर रहेको छ । आफ्नो तेल निर्यातकालागि इरानपनि यसै जलमार्गमा निर्भर छ ।
संसारमा सबैभन्दा धेरै तरलीकृत प्राकृतिक ग्यास, एलएनजी, उत्पादक कतारले लगभग सबैजसो ग्यासको निर्यात यहि जलमार्गबाट गर्दछ ।
पछिल्लो हमलापछि संयुक्त राज्य अमेरिकाको उड्डयन नियामकले अमेरिकी विमानसेवाहरूलाई इराक, इरान र छिमेकका मुलुकहरूमाथिको आकाशबाट उडान गर्नबाट प्रतिबन्ध लगाएको छ । त्यस्तो प्रतिबन्धमा ओमानको खाडी र इरान तथा साउदी अरबबीचको समुद्री भेगमाथिको आकाश पनि पर्दछ ।
अमेरिकाको संघीय उड्डयन प्रशासन, एफएएले उक्त क्षेत्रमा चर्कँदो सैनिक गतिविधि, र बढ्दो राजनीतिक तनावका कारण त्यस्तो निर्णय लिनु परेको भनेको छ । यसैबीच सिंगापुर एअरलाइन्सले आफ्ना सबै उडानहरूलाई इरानी हवाइक्षेत्रबाट अन्यत्रै लैजाने बताएको छ । बीबीसी