निर्धारित समयभित्रै मेलम्चीको पानी ल्याउन मन्त्री मगरले गरिन् छलफल

काठमाडौंः खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्थाबारे बुधबार सिंहदरबारमा छलफल गरेकी छन् ।

मन्त्री मगरले मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको छलफलमा कामको पछिल्लो अवस्थाबारे जानकारी लिएकी हुन् । छलफलमा उनले सरकारले तोकेको समयभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी कामलाई तिब्रता दिन निर्देशन दिइन् ।

उनले हेड वक्र्स (मुहान) र सुरुङ फिनिसिङको कामको प्रगतिबारे जिज्ञासा राख्दै काममा ढिलाई नगर्न निर्देशन दिइन् । छलफलमा समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको काममा अहिले कुनै ढिलाई नभएको स्पष्ट पारे ।

याे पनि पढ्नुस  मेलम्ची खानेपानी आयोजना : पुस अन्तिमसम्म प्रशोधन केन्द्र तयार

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा अहिले निर्माणको काम धमाधम भइरहेको छ । इटालियन कम्पनी सीएमसीले ठेक्का तोडेसँगै अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम र हेडवक्र्स निर्माणको काम गरिरहेको छ ।

अहिलेसम्म आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । समय अघि नै काम सम्पन्न गरे निर्माण व्यवसायी (ठेकेदार कम्पनी) लाई बोनसको व्यवस्था भएको हुनाले तोकिएको अवधि भित्रै मेलम्चीको पानी काठमाडौं आईपुग्ने समितिले जनाएको छ ।

याे पनि पढ्नुस  खानेपानी मन्त्री मगरद्वारा मेलम्चीको पानी प्रशोधन केन्द्रको निरीक्षण

टनेलको काम ९० प्रतिशत र हेडवक्र्सको काम ६० प्रतिशत सकिसकेको आयोजनाका कार्यकारी निर्देशक खत्रीले बताए । मेलम्चीको पानी आए काठमाडौं उपत्यकाका ४० लाख जनसंख्या लाभान्वित हुनेछन् ।

आयोजना अन्तर्गत पहिलो चरणमा मेलम्चीको दैनिक १७ करोड लिटर पानी राजधानी आउनेछ । त्यसपछि दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको चौंध–चौंध करोड गरी थप ३४ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने योजना बनाइएको छ ।

याे पनि पढ्नुस  उपनिर्वाचन २०७६ः खानेपानी मन्त्री मगरद्वारा मतदान

यता मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रको दोस्रो भागको काम करिब सकिन लागेको छ । पहिलो खण्ड अन्तर्गत साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको हो ।

कमेन्ट गर्नुहोस्