लण्डनः गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष तथा गत चुनावका अध्यक्ष पदका प्रतिस्पर्धी कुल आचार्यले तत्काल विशेष अधिवेशनको मिति तय गर्न माग गरेका छन् ।
लण्डनमा पत्रकार सम्मेलनको आयोजना गरी आचार्यले नयाँ नेतृत्व अनेकन अनियमितता र अपारदर्शी गतिविधिमा संलग्न भइरहेको समाचार आइरहेकाले अब विशेष अधिवेशनको विकल्प नरहेको बताएका हुन् । एनआरएनए निवर्तमान उपाध्यक्ष आचार्यले आर्थिक र सांगठनिक प्रतिवेदन पारित नगरी नवौं अधिवेशन सकिएकाले संस्थाले गरेको खर्च अवैध ठहरिन सक्ने उल्लेख गरे ।
‘नवौं विश्व सम्मेलनमा आर्थिक प्रतिवेदन पारित नहुनु संस्थाकै लागि दुर्भाग्यपूर्ण हो, यसले हाम्रो संस्थाको गरिमामाथि नकारात्मक असर पर्छ, संस्थाभित्रका अनियमितताका समाचारहरु बाहिर आइरहेका छन्, सन् २०१८ मा आयोजित विश्व ज्ञान सम्मेलनमा काटिएको टिकट तथा होटल बुकिङको हिसाब सार्वजनिक गरिएको छैन,’ आचार्यले भने, ‘म उपाध्यक्ष भएकै बेला दुई जना सिइओ राख्दा संस्थाले धान्न सक्दैन भनेर मैले उठाएको विषय अहिले पनि रेकर्डमै छन् । सभा, सम्मेलनहरुको आयोजनामा पनि पारदर्शिता कायम गरिएको छैन । संस्थालाई भ¥याङ बनाएर व्यापार गर्ने र संसारभरिका एनआरएनहरुको विश्वासमाथि कुठाराघात गर्ने कार्यले प्रश्रय पाएको छ ।’
संघको चुनावी परिणाम घोषणा भएसँगै मौन रहेर निर्वाचित कार्यसमितिलाई निर्वाध रूपमा काम गर्न दिएको प्रष्ट पार्दै आचार्यले सन्तुलित रूपमा संघलाई नयाँ कार्यसमितिले लान नसकेपछि अगाडि आएको बताए ।
आफ्ना पक्षका व्यक्तिहरुलाई एकपक्षीय रूपमा नियुक्ति दिने, सम्मानजनक मतसहित थोरै कम मतले उपविजेता भएकाहरुलाई हुर्मत लिने, हरुवा भन्दै निरन्तर अपमान गर्ने काम भएको बताउँदै आचार्यले यी तमाम विकृति विसंगतिविरुद्ध अब चुप लागेर नबस्ने चेतावनी दिए ।
प्रवासी नेपालीका संस्थाभन्दा पनि व्यक्तिगत फाइदामा संस्थाका दुरुपयोग हुन पुगेको दावी गर्दै आचार्यले त्यसलाई रोक्न र सबै एनआरएनए अटाउने संस्था बनाउन आफु जस्तोसुकै कदम चाल्न तयार रहेको बताए ।
‘खबरदारी गर्न छोड्ने छैन, अहिलेका विकृति विसंगतिविरुद्ध अघि बढ्न संसारभरिका सचेत गैरआवासीय नेपालीहरुलाई आग्रह गर्दछु,’ आचार्यले भने ।