काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबका झगडा गर्ने खेलाडीलाई निलम्बन गरेको छ ।
अनुशासन समितिले मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५–५ खेल तथा रञ्जन विष्टलाई २ खेलका लागि निलम्बन गरेको हो । यस्तै मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २ खेलमा निलम्बन गरिएको छ ।
एन्फाका अनुसार जगजित र अशोकलाई जनही १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगको बाँकी सबै खेलमा निलम्बन गरिएको छ भने १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।
टिमको बेञ्चलाई अनुशासनमा राख्न नसकेकामा दुबै टिमलाई ५० हजार जरिवाना समेत तोकिएको छ । ए डिभिजन लिगमा सोमबार भएको खेलमा दुई क्लबले २–२ गोलको बराबरी खेलेका थिए । तर खेल लगत्तै दुबै टिमका खेलाडीहरुले झगडा गरेका थिए ।