काठमाडौंः आइएसआइएसका तीन आतंककारीलाई नेपालबाट पक्राउ गरेर दिल्ली प्रहरीको विशेष फोर्सले भारत लगेको छ ।
आज दिल्ली प्रहरीले तीनै जना आतंककारीलाई पक्राउपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
तामिलनाडुबाट फरार भएका आइएसआइएसका आतंककारी नेपालबाट दिल्ली जाँदैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न बजीराबाद इलाकामा योजना बनाए पनि उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले बताएको छ ।
प्रहरीले तीनै जनालाई आत्मसमर्पण गर्न भनेपनि उनीहरुले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीपछि तीनै जनालाई पक्राउ गर्न सफल भएको थियो । यसका साथै, दिल्ली प्रहरीको विशेष फोर्सका अनुसार यी तीनै जना आतंककारी तामिलनाडुमा एक हिन्दु नेताको हत्यामा समेत संलग्न थिए ।
२०१४ मा भारतका केही साथीहरुसँग मिलेर उनीहरुले तामिलनाडुका हिन्दु नेता सुरेश कुमारको हत्या गरेर जेल चलान भएका तीनै आतंककारी धरौटीमा रिहा भई १२ र १३ डिसेम्बरमा भागेर नेपाल आएका थिए ।
उनीहरु नेपालमा १५–२० दिनको बसाईपछि दिल्लीमा रहेका साथीहरुलाई भेट्न जाने योजनामा रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अब्दुल समद, ख्वाजा मोहिद्धिन र सैयद अली रहेका छन् ।