जाडोमा किन इन्जिन स्टार्ट ढिला? कारण यी हुन्

जाडोमा बिहानको समय अधिकांश बाइक वा गाडी स्टार्ट हुन गाह्रो हुन्छ । खासगरी, बाहिरै पार्किङ गर्नुपर्ने गाडी स्टार्ट हुन समय लाग्छ । इन्जिन, ब्याट्रीका कारण पनि गाडी स्टार्ट नहुन सक्छ । इन्जिनको तापक्रमले पनि यसमा असर गर्छ । चिसो मौसममा इन्जिन स्टार्ट नहुनुका चार कारण छन् :

ब्याट्री डेड हुनु

तापक्रम कम हुँदा गाडीको ब्याट्रीमा रासायनिक प्रतिक्रिया सुस्त हुँदै जान्छ, जसले गर्दा ब्याट्रीले काम गर्न छोड्छ । खासगरी पुराना गाडीका ब्याट्री छिटो डेड हुन्छन् । सामान्यतया गाडीको ब्याट्री हरेक तीन वर्षमा परिवर्तन गर्नुपर्ने हुन्छ । अत्यधिक चिसो भएको अवस्थामा नयाँ ब्याट्रीको पावरसमेत छोटो समयमै कम हुन्छ ।

मोबिल जम्नु

मोबिल वा इन्जिन आयल जमेर पनि चिसोमा इन्जिन स्टार्ट हुँदैन । गाडीले थेग्न सक्ने तापक्रमको प्रेसरभन्दा बाहिरको तापक्रम कम हुँदा मोबिल जम्ने गर्दछ । जसले गर्दा पर्याप्त रूपमा इन्जिन प्रवाह हुँदैन । ब्याट्रीको पावरसमेत कम भएको अवस्थामा इन्जिन ब्लकका माध्यमबाट पम्प गर्न अझ गाह्रो हुने गर्दछ । पहिलेदेखि ब्याट्री कम भएका गाडी स्टार्ट हुने सम्भावना घटेर जान्छ ।

इन्धन लाइनमा पानी जम्नु

जाडोमा इन्जिन स्टार्ट नहुनुको अर्को कारण इन्धन लाइनमा पानी जम्नु हो । सामान्यतया इन्धन लाइनमा पानी हुनुहुँदैन । तापक्रम कम हुँदा ग्यास लाइन र इन्धन ट्यांकीमा पानी जान सक्छ, तर यस्तो समस्या विरलै आउँछ । यस अवस्थामा इन्धन लाइनहरू पूर्ण रूपमा फेर्नुपर्ने हुन सक्छ ।

कार्बोरेटर भएका गाडी
कार्बाेरेटरजडित अधिकांश गाडीको मुख्य समस्या चिसोमा स्टार्ट नहुनु वा बन्द हुनु हो । यस्ता गाडीको इन्जिनमा साना नोजलहरू हुन्छन्, जाडोमा चिसो बाफलाई वाष्पीकरण गर्न नसक्दा ती नोजल ब्लक हुन्छन् ।

कसरी स्टार्ट गर्ने ?

चिसोमा इन्जिन फ्रिज भएर मात्र नभई अन्य समस्याका कारण पनि स्टार्ट नहुन सक्छ । चिसोले इन्जिन स्टार्ट नभएको अवस्थामा बाइकमा रहेको चोक तानेर स्टार्ट गर्न सकिन्छ । चोकले इन्जिनमा जाने हावा बन्द गरेर इन्धन खन्याउँछ, जसले इन्जिनलाई वार्मअप गर्न सजिलो हुन्छ ।
एफआई सिस्टम भएका बाइकमा अटो चोक सिस्टम हुन्छ, जसले आफैँ काम गर्छ । इन्जिन स्टार्ट भइसकेपछि पनि दुईदेखि तीन मिनेट न्युट्रलमा छोडिदिनुपर्छ । जसले इन्जिनलाई सामान्य अवस्थामा ल्याउन सहयोग गर्छ । सबै गाडीमा चिसोका कारण समस्या आउँदैन । यस्ता समस्याबाट बच्न बाइक तथा गाडीलाई समय–समयमा अनिवार्य सर्भिसिङ गर्नुपर्छ । –नयाँ पत्रिका दैनिकबाट

कमेन्ट गर्नुहोस्