काठमाडौंः टी–२० क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा भारतले पाहुना टोली श्रीलंकालाई २ सय २ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनायो ।
उसका लागि केएल राहुल र शिखर धवनले अर्धशतक बनाए । केएलले ३६ बलमा १ छक्का र ५ चौका प्रहार गर्दै ५४ रन बनाए ।
यस्तै शिखरले ३६ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५२ रनको योगदान दिए । कप्तान विराट कोहली २६, श्रेयस अय्यर ४, सञ्जु स्यामसन ६ रनमा आउट भए । मनिष पाण्डे ३१ र शार्दुल ठाकुर २२ रनमा अविजित रहे ।
बलिङमा श्रीलंकाका लक्षण सदानले ३, लाहिरु कुमारा र वाविन्दू हसरंगाले एक–एक विकेट लिए । हालसम्म श्रीलंकाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय माथि लक्ष्य पूरा गर्न सकेको छैन । यदि आज उसले लक्ष्य पूरा गरे इतिहास रच्ने छ ।
सिरिजको अन्तिम खेलमा भारतले तीन र श्रीलंकाले २ खेलाडी परिवर्तन गरेको छ । श्रीलंकाले इसरु उडाना र भानुका राजापाक्षलाई विश्राम दिएको छ । उनीहरुको स्थान एन्जेलो म्याथ्यूज र लक्षण सदाकनले लिएका छन् ।
भारतले सिरिजको तेस्रो खेलमा ऋषभ पन्त, कुलदीप यादव र शिवम दुवेलाई विश्राम दिएको छ । उनीहरुको स्थानमा सञ्जु स्यामसन, युजवेन्द्र चहल र मनीष पाण्डेलाई प्लेइङ ११ मा मौका दिइएको छ । तीन खेलको सिरिजमा भारत १–० ले अगाडि छ ।
यदि आजको खेल भारतले जिते उसले सिरिजलाई २–० ले ‘क्लिन स्विप’ गर्नेछ । सिरिजको पहिलो खेल वर्षा बाधक बनेपछि रद्द गरिएको थियो ।