घोराहीः प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले संबिधान अनुसार प्रदेशको नाम र नाम टुंगो लाग्ने बताएका छन । दाङको घोराहीमा आजदेखि सुरु भएको माघी महोत्सवको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
राजधानी र नामको बिषय निकै पेचिलो बन्दै गएको भन्दै माघ ५ गतेदेखि सुरु हुने प्रदेशसभाको अधिवेशनमा उक्त बिषयले प्रवेश पाउने सरकारका प्रवक्ता समेत रहेका मन्त्री चौधरीले बताए । राजधानीका बिषयमा गठन भएको समितिले समेत प्रतिवेदन पेश गरी सकेकाले चालु बर्षमै नाम र स्थायी राजधानीको बिषय टुंगिने मन्त्री चौधरीले बताए ।
प्रदेश नम्बर ५ मा थारु र मगर समुदायको बाहुल्यता रहेको भन्दै हरेक माघीमा दुई दिन दिन बिदा दिने नीतिगत निर्णय भए अनुसार बिदा दिइएको उनले बताए । हरेक बर्ष माघीलाई बिशेष पर्वका रुपमा मनाउने भएकाले मुख्यमन्त्री निवासमा माघीका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरिएको उनले बताए ।
ग्रामीण क्षेत्रका जनताको बिकास र नेतृत्व बिकासका लागि मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम सञ्चालन भएको उल्लेख गर्दै प्रदेशको समृद्धिका लागि सरकारले जनतालक्षित कार्यक्रम गरिरहेको पनि मन्त्री चौधरीले बताए ।
थारु कल्याणकारिणी सभा दाङले आगामी पुस २८ गतेसम्म माघी महोत्सवको आयोजना गरेको छ । थारु समुदायको कला, सस्कृती र सस्कारको संरक्षणका लागि थारु कल्याणकारिणी सभाले हरेक बर्ष दाङको घोराहीमा माघी महोत्सव गर्दै आएको अध्यक्ष भुवन चौधरीले बताए ।