काठमाडौंः श्रीलंका विरुद्धको टी–२० क्रिकेट सिरिज भारतले २–० ले ‘क्लिन स्विप’ गरेको छ । अन्तिम खेलमा श्रीलंकालाई ७८ रनले हराउँदै भारतले २–० ले सिरिज ‘क्लिन स्विप’ गरेको हो ।
सिरिजको अन्तिम म्याचमा भारतले दिएको २ सय २ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले १५.५ ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो ।
उसका लागि धनन्जय डी सिल्भाले सर्बाधिक ५७ रन बनाए । बलिङमा भारतका नवदीप सैनीले ३, वासिङटन सुन्दर, सार्दुल ठाकुरले २–२ र जसप्रित बुमहराले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनायो ।
उसका लागि केएल राहुल र शिखर धवनले अर्धशतक बनाए । केएलले ३६ बलमा १ छक्का र ५ चौका प्रहार गर्दै ५४ रन बनाए ।
यस्तै शिखरले ३६ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५२ रनको योगदान दिए । कप्तान विराट कोहली २६, श्रेयस अय्यर ४, सञ्जु स्यामसन ६ रनमा आउट भए । मनिष पाण्डे ३१ र शार्दुल ठाकुर २२ रनमा अविजित रहे ।
बलिङमा श्रीलंकाका लक्षण सदानले ३, लाहिरु कुमारा र वाविन्दू हसरंगाले एक–एक विकेट लिए । भारत–श्रीलंकाबीचको सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।