काठमाडौंः चितवन टाइगर्सले यो सिजनको एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने ४ विदेशी खेलाडीको लगभग टुंगो लगाएको छ ।
चितवनले यो सिजनका लागि आयरल्याण्डका पउल स्टर्लिंङ, मार्क अडायर, अफगानिस्तानका मोहम्मद सहजाद, र श्रीलंकाका सिकुगी प्रसन्नालाई विदेशी खेलाडीका रुपमा टिममा भित्र्याएको हो ।
इपीएलको वेब साइटमा चितवनले भित्र्याएका यी खेलाडीसँगै हसिम अमला, ड्वायन स्मिथ, केस्रिक विलियम्स, उपल थरंगा, लियाम पुल्कित, रिचार्ड लेभीलगायतको नाम पनि उल्लेख गरिएको छ ।
आसन्न इपीएलमा दक्षिण अफ्रिका क्रिकेट टिमका पूर्वकप्तान हसिम अमला खेल्ने पक्का जस्तै भएको छ । तर, उनी कुन टिमबाट खेल्ने भन्ने जानकारी बाहिर आइसकेको छैन ।
३६ वर्षीय ब्याट्सम्यान अमला अन्तर्राष्ट्रिय क्रिकेटबाट हालै मात्र सन्यास लिएका थिए । उनले दक्षिण अफ्रिकाको लागि १२४ टेस्ट, १८१ एकदिवसीय र ४४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।