श्रीमान विदेशमा, शिशु हत्या आरोपमा आमा पक्राउ

राजविराजः सप्तरीमा सन्तानको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जन्मिएलगत्तै शिशु हत्या गरेको आरोपमा जिल्लाको रूपनी गाउँपालिका–३ की २५ वर्षीया उमादेवी शर्मालाई पक्राउ गरिएको हो ।

हत्याको झण्डै एक महिनापछि प्रहरी अनुसन्धानबाट आमा नै दोषी देखिएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरी थप अनुसन्धान थालेको एसपी कृष्ण प्रसाइले बताए । बालिका शिशु जन्मिएपछि हत्या गरिएको हुनसक्ने प्रसाइले बताए । ‘आरोपितको गर्भबाट शिशु बालिका जन्मिएको मिति र वास्तविकता परिक्षण गर्न आरोपितलाई धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गर्न पठाइएको छ ।’

याे पनि पढ्नुस  टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

रूपनी गाउँपालिका–३ हर्दियास्थित तिलेश्वर साहको पोखरीमा मङ्सिर २८ गते माछा मार्न स्थानीयवासीले हालेको जालमा बालिका शिशुको शव फेला परेको थियो । अवैध गर्भबाट छोरी जन्मिएका कारण हत्या गरी फालिएको स्थानीयवासीले बताएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

दुई छोराकी आमा रहेकी आरोपितका श्रीमान वैदेशिक रोजगारका लागि मलेसियामा छन् । पोखरीको छेउमा बाँसको ढकियासमेत फेला परेकोले सोही ढकियामा बालिका ल्याई पोखरीमा फालिएको स्थानीयले बताएका छन् ।

कमेन्ट गर्नुहोस्