सुन ३० महिनामा २४ हजार महँगियो

काठमाडौंः पछिल्ला ३० महिनामा सुनको भाउ तोला (११.६६४ ग्राम) मै २३ हजार ७ सय रुपैयाँसम्म महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २६ असार २०७४ मा ५२ हजार ८ सय रुपैयाँमा झरेको सुनको भाउ गत बुधबार ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो। त्यसयताका दुई दिनमै १ हजार ९ सय रुपैयाँ सस्तिसकेको भए पनि सुनको भाउ वास्तवमै ओरालो लागेको मान्न कठिन हुने सुनचाँदी व्यवसायी बताउँछन्।

पछिल्लो समय अमेरिका र इरानबीच सम्भावित युद्ध जोखिमका कारण विश्व बजारमा सुनको मूल्य उकालो लागेको छ। तर यो जोखिम अझै पूर्णतः टरिसकेको छैन। त्यहीकारण अझै पनि सुन महँगिने सम्भावना ‘ज्यूँका त्यूँ’ रहेको व्यवसायीले बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा गत बिहीबार प्रतिऔंस २० डलर सस्तिएको सुनको भाउ शुक्रबार १० डलरभन्दा धेरैले महँगिएको छ। यसले नेपाली बजारमा आइतबार पुनः सुनको मूल्य उकालो लाग्ने देखिन्छ।

याे पनि पढ्नुस  एकैदिन २ हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार?

पछिल्लो साढे दुई वर्षको मूल्यले नै पनि नेपाली बजारमा पहेँलो धातुको भाउ हरेक दिन २६ रुपैयाँ र हरेक महिना ७ सय ९० रुपैयाँ महँगिएको देखाउँछ। आर्थिक वर्ष २०७३र७४ पछिको २ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २४ हजार ३ सय १४ रुपैयाँ बढेको केन्द्रीय तथ्यांक विभागले बताएको छ। सुनको भाउ पनि यही रफ्तारमा बढेको देखिएको छ।

पृथ्वीमा निकै दुर्लभ मानिने पहेँलो धातुको मूल्य चुलिएपछि नेपालले रेमिट्यान्सबाट कमाएको ठूलो रकम सुन किन्न खर्चनु परेको छ। त्यसो त, सुनको भाउ बढ्दै जाँदा यसले तस्करीजस्ता अपराधिक गतिविधि बढाएको नेपाल राष्ट्र बैंकका अधिकारी बताउँछन्। राष्ट्र बैंकले तीन वर्षअघि सार्वजनिक गरेको भुक्तानी सन्तुलनबारेको एक प्रतिवेदनले भारतसँगको व्यापारमा मात्रै झण्डै ४० प्रतिशत आयातको भुक्तानी गैरकानुनी बाटोबाट भएको देखाएको थियो। राष्ट्र बैंकका आन्तरिक प्रतिवेदनमा भने यो रकमको ठूलो हिस्सा सुन तस्करीबाट पूर्ति गरिएको उल्लेख भएको त्यहाँका अधिकारी बताउँछन्।

याे पनि पढ्नुस  सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

मूल्य निर्धारणमा फेरिएको शृंखला

२०४६ अघि हाम्रो बजारले नै सुनको मूल्य तय गथ्र्यो। काठमाडौंको बजारमा सुनको माग र आपूर्ति हेरेर तोलाको भाउ तोकिन्थ्यो। त्यसबेला हामीले सन्दर्भ मूल्यको रूपमा अघिल्लो दिन भारतीय बजारमा सुनको भाउ हेथ्र्यौं।

त्यसबखत साउन लागेपछि सुन सस्तिन थाल्थ्यो। मंसिरपछि सुनको भाउ महँगिने गथ्र्यो। हिउँदमा मान्छेले धान, कोदोजस्ता बाली उब्जाउँथे। त्यसको बिक्रीबाट आम्दानी हुने रकममध्ये केही पैसा सुन किन्नमा खर्चन्थे। माग बढेपछि सुन महँगिन्थ्यो। धेरैजसो विवाह पनि हिउँदमै हुने भएकाले माग बढी हुन्थ्यो।

बर्खा लागेपछि मानिससँग पैसा सकिन्थ्यो। अनि त्यही सुन बेचेर पैसा लिन थाल्थे। त्यसबाट पुनःबिक्री (रि–सेल)मा धेरै सुन सर्वसाधारणको हातबाट पसलमा फर्किन्थ्यो। २५–३० वर्ष अघिसम्म पनि पुनःबिक्रीका लागि आउने सुनको मात्रा कुल कारोबारको ४० प्रतिशतभन्दा बढी थियो। २०५० को दशकपछि यो दर १० प्रतिशतमा झर्‍यो। २०७२ को भूकम्पपछि फेरि यो अनुपात बढ्न थालेको छ। अहिले सुन पसलेले बेचिसकेको २०–२५ प्रतिशत सुन पुनः पसलमै फिर्ता हुन्छ।

याे पनि पढ्नुस  आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

प्रजातन्त्रको पुनर्बहालीपछि विश्व बजारसँग हाम्रो मूल्य संरचना जोडिन थाल्यो। यसले अन्तर्राष्ट्रिय बजारको मूल्यमा आउने फेरबदललको असर हाम्रो बजारमा क्रमशः बढ्दै गयो। अहिले त नेपाली बजारमा पनि सुनको मूल्य निर्धारणमा ७५ प्रतिशत प्रभाव पश्चिमा बजारले पार्ने गरेको छ। बाँकी २५ प्रतिशत योगदान भारतीय बजारको मूल्यमा भएको परिवर्तनले गर्छ। नेपालभित्र सुनको माग र आपूर्ति कति छ भन्ने कुराले कहिलेकाहीँ २–४ सय रुपैयाँ तलमाथि पार्नेबाहेक केही काम गर्न सक्दैन। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्