काठमाडौंः लगातार संसद बैठक स्थगित गरिएकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । संसदलाई दलगत अनिर्णयको बन्दी बनाइएकोमा कांग्रेसले आपत्ति जनाएको हो ।
प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएको बिषय दुःखद भएको भन्दै कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्रजिम्मेवार ब्यवहारका रूपमा लिएको उल्लेख गरेको छ ।
प्रपक्त विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्व हुन्छ । तीन महिनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायांमा प्रतिनिधिसभालाई लाचार छायां बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।’
स्वयं सत्तापक्षका कारण महिना दिनदेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिँदै दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन कांग्रेले चेतावनी दिएको छ । साथै, तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई विज्ञप्तिमार्फत सचेत गराइएको छ ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर माघ ६ गतेसम्म स्थगित गरिएको छ । बैठक यसअघि पनि दुईपटक सुचना टाँस गरेर स्थगित गरिएको थियो ।