एकीकरण ट्रेल पछ्याउँदै नेपाली सेना

नुवाकोटः कालो रङको सैनिक पोसाक, परम्परागत तरवार, ढाल, बन्दुक र अन्य हातहतियारले सुसज्जित सैनिकको लोभलाग्दो तर, अनौठो लावालस्कर । नेपाल एकीकरण वखत र त्यस पछिका केही कालखण्डबारे पढिएका इतिहास र त्यसलाई बुझाउन चित्रण तथा रचिएका तस्वीरहरु अध्ययन गर्नेहरुका लागि यो दृश्यले नेपाल एकीकरण समयको दुरुस्त झल्को दिइरहन्थ्यो ।

अझ भनौँ, मुलबाटोमा स्वागतका लागि तम्तयार भएर लामबद्ध उभिएका दर्शकहरुलाई ऊ बेला पृथ्वीनारायण शाहकै पालाको बनोट र वान्की देख्दा यो भान हुन्थ्यो कि, ‘हिजो भुरे–टाकुरे राज्यहरु एकपछि अर्को विरतापुर्वक लड्दै सिंगो नेपाल जित्ने युद्धकलामा पाराङ्गत गोर्खाली फौज पक्कै नै यीनै हुन् । जो मृत्युपछि पनि फेरी जर्‍याकजुरुक ब्युँझिएर आफ्नो रगत, पसिना, साहस र विरताले कोरेको एकिकरण युद्धको मुलबाटो हेर्ने र वर्तमान नेपाली पुस्तालाई देखाउने लालसा बोकेर आइरहेका छन् ।’

पुर्खाको विरताको इतिहासलाई सम्झाउन नेपाली सेनाले गोरखा दरबारबाट नुवाकोट हुँदै वर्तमान नेपालको राजधानी काठमाण्डौंसम्म गरेको पदयात्राले नेपाल एकिकरण र त्यसअघिको पाठ सिक्नेहरुका लागि यो प्रयाप्त नै थियो । यो त्यहि मार्ग हो, जुन पृथ्वीनारायण शाह र उहाँको अवसानपश्चात् पनि जारी पूर्वमा टिष्टा र पश्चिममा काँगडा नदीसम्मको विशाल नेपाल एकिकरण अभियानमा मुख्य गरी प्रयोग भएको मुलबाटो हो ।

नेपाल सरकारको घोषित नीति तथा कार्यक्रम अनुसार नै एकीकरण मार्ग पदयात्रा कार्यक्रमअन्तर्गत देवीदत्त गण नेपाली सेनाले गोरखाबाट पुस १८ गते शुरु गरेको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाण्डौँ पुगेर विश्राम पाएको छ ।

याे पनि पढ्नुस  उपरथी श्रेष्ठसहित ९ सैनिक अधिकृत कारवाहीमा

तत्कालिन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पुर्‍याएको योगदानको सम्मानस्वरूप उनीसहित गोर्खाली सेनाले एकीकरणको समयमा गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म पुगेको पदमार्गमा ‘एकीकरण टर्च’ र्‍याली अर्थात् एकिकरण दिप बोकेर नेपाली सेना निस्किएको हो ।

गोरखाको बोर्लाङ, सल्यानटार, हासेपसल, चरङ्गे, तबईभार, नुवाकोटको सामरी हुँदै गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै म्यागङ मैदान, भैरमकोट, शुभघाट, केउरिनी चौतारो पृथ्वीनारायण शाहले निर्माण गर्न लगाउनुभएको नुवाकोटस्थित साततले दरबारमा प्रवेश गरेको थियो ।

पुर्खाले आर्जेको मुलुक र इतिहासको पदचिन्ह पहिल्याउँदै तथा पछ्याउँदै त्यसको प्रवद्र्धन र संवद्र्धन गर्न यो पदयात्रा उपयोगी रहेको जबरजङ्ग गण नुवाकोटका गणपति कर्नेल उदयबहादुर लामिछानेको विश्वास छ । ‘हामीले पुर्खाको मेहनत र विरताको विगतलाई भुल्नु भएन । त्यसको कदर गर्दै इतिहासलाई सम्मान गर्नसके मात्र नेपानी हुनुमा गर्व गर्न लायक ठहरिनेछौँ’, गणपति लामिछानेले भन्छन्–‘आजका युवा र भावी पिढिलाई देशभक्ति जगाउने दिशामा एकिकरण यात्रा सफल भएको छ ।’

देवीदत्त गणले धादिङर नुवाकोट सिमाना भर्‍याङभुरुङमा आइपुगेको पदयात्रा कार्यक्रम जबरजङ्ग गणलाई हस्तान्तरण गरेको हो । इतिहासकारहरुका अनुसार भर्‍याङभुरुङ अर्थात् नुवाकोटको सामरी क्षेत्रको टक्सारमा नुवाकोट राज्य एकिकरणका लागि आफु र गोर्खाली फौजलाई भिन्न भेष धारण गरी चलाखीपुर्ण ढंगले अध्ययन गरेका थिए ।

बाबु नरभुपाल शाहको नेपाल एकिकरण यात्रा नुवाकोट पराजयसँगै असफल भएपछि बाबुको मृत्युपछि टुंगिएको त्यस एकिकरण यात्रालाई पृथ्वीनारायण शाहले निरन्तरता दिएका थिए । पहिलोपटकको प्रयासमा उहाँले पनि हार व्यहोर्नुपरेपछि बनारस पुगेर थप हातहतियारसहित फर्किएका थिए । फरक युद्ध कुटनीति अपनाउँदै टक्सार क्षेत्रमा किसानको भेष धारण गरी स्थानिय किसानहरुसँगै मिलेर आफ्ना सैनिकसँगै कयौँ दिन कुलो खनेको इतिहासमा उल्लेख छ ।

याे पनि पढ्नुस  काठमाडौं–तराई द्रुतमार्गः लागत १ खर्ब ७५ अर्ब, साढे तीन वर्षमा सक्ने सेनाको दाबी

यहाँबाट कल्याणपुर, देउडी, राइसिंङ, बगुवा बजार हुँदै शुभघाट अर्थात् खिन्चेतमा पुगेर नुवाकोट कब्जा गरेको क्षणलाई स्मरण गराएको थियो । त्यतिबेला पृथ्वी नारायणले कलात्मक ढुंगामार्फत् निर्माण गरेको सिंढी अर्थात् गोरखा काठमाण्डौं गर्ने मुलबाटोलाई सुचारु गरिएको छ । जो, लामो समयदेखि हिँडडुल बन्द हुँदा र मर्मत तथा संरक्षण नहुँदा मेटिने खतरामा पुगेको थियो ।

१८०१ साल असोज १५ गतेको अघिल्लो मध्यराति बास बसेका फौजले मध्यरातमा त्रिशुली नदीको बर्खे भेल तरेर उनका मुख्य कमाण्डर कालु पाण्डेको सेनापतित्वमा नुवाकोटमाथी हमला भयो र मल्लहरुको अधिनमा रहेका जयन्त रानाको नेतृत्वमा रहेको नुवाकोट विजय भयो । त्यसपटक गोर्खाका १२ देखि २० वर्षसम्मका सबै युवाहरूलाई यही खिन्चेतमा सशस्त्र तयारी गरीएको थियो भने सैनिकहरूको संख्या १ हजार भन्दा माथि भएको इतिहासमा उल्लेख छ । यीमध्ये केहि सैनिक खेतालाहरुको रुपमा नुवाकोट पुराइएको थियो ।

पृथ्वीनारायणकालीन सैन्य वस्त्र लगाएर हिँडेको सो पदयात्राका सहभागी सैनिकले बन्दूक र बाजा पनि बोकेका थिए । त्यतिबेलाको समयमा पृथ्वी नारायण शाहले गोर्खाली सेनामा बनाएका श्रीनाथ, कालिबक्स, बर्दबहादुर लगायतका ५ सैन्य कम्पनीका झण्डासहित एकिकरण दिप लिएर अघि बढेको देखिन्थ्यो । ४० जना पदयात्री समुहको टर्च र्‍यालीमा गुरुजी पल्टन अर्थात् काले सैन्य पहिरन पहिरिएका पृथ्वीनारायणकालीन सैन्य वस्त्रमा १० जना सामेल थिए ।

याे पनि पढ्नुस  सेनाद्वारा सेनानी रामचन्द्र तिवारीलाई सेवाबाट हटाउने निर्णय

नुवाकोट किल्लापछि अघि बढेको सैनिक टोली धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुँदै काठमाडौँ र नुवाकोटको सिमाना ओखरपौवामा संसद् गणलाई पदयात्रा हस्तान्तरण गरीएको थियो ।

नुवाकोट कब्जापछि किर्तिपुर आक्रमणमा जान पनि यही मार्ग विषेश प्रयोग भएको थियो । काठमाडौँस्थित सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुराएर त्यहाँ विशेष कार्यक्रम गरी बिहिवार उक्त र्‍यालीको समापन गरिएको नेपाली सेनाले जनाएको छ ।

‘विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ -यालीमार्फत फेरी नेपालीमा एकताको सन्देश फैलिएको छ,’ जबरजङ्ग गणका गणपति लामिछाने भन्नुहुन्छ । यात्रामा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले प्रयोग गरेको जस्तै पोशाक र हतियारमा सजिने हँुदा नेपाल एकीकरणको स्मरण गराउन मद्दत पुग्नुका साथै नेपाल राष्ट्र, नेपाली राष्ट्रियताप्रति थप जिम्मेवार रहन महत्वपूर्ण शिक्षा मिलेको छ ।’

यो एकिकरण यात्राले नेपालमा सुरु भएको नेपाल भ्रमण वर्षका लागि नेपाल एकीकरण पदमार्गमा पर्यटन आकर्षित गराउन समेत सहयोग पुग्ने अपेक्षा गर्न सकन्छ । –गाेरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्