काठमाडौंः मार्कस स्टोइनिसले शतक बनाएपछि अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा मेलबर्न स्टार्सले सिड्नी सिक्सर्सलाई २ सय २० रनको विशाल लक्ष्य दिएको छ ।
‘ब्याट फ्लिप’ हारेर ब्याटिङको मेलबर्नले निर्धारित २० ओभरमा १ विकेट गुमाएर २ सय १९ रन बनायो ।
उसका लागि ओपनर स्टोइनिसले शतक बनाए । उनले ७९ बलमा ८ छक्का र १३ चौका प्रहार गर्दै अविजित १ सय ४७ रन बनाए ।
शतकसँगै स्टोइनिसले इतिहास रचेका छन् । उनले बीबीएलमा एकै खेलमा व्यक्तिगत सर्बाधिक रन बनाउने खेलाडीको इतिहास रचेका हुन् ।
मेलबर्नलाई विशाल लक्ष्यमा पुर्याउन अर्का ओपनर हिल्टन कार्टराइटले ४० बलमा ३ छक्का र ६ चौका प्रहार गर्दै ५९ रनको योगदान दिए ।
यस्तै कप्तान ग्लेन म्याक्सवेल ५ रनमा अविजित रहे । बलिङमा सिड्नीका टम करनले एक विकेट लिए ।
मेलबर्नमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने नवौं म्याचमा पनि सन्दीप प्लेइङ ११ मा अटाएका छन् । गत संस्करणको उपविजेता मेलबर्नले जारी सिजनमा पनि शानदार प्रदर्शन गरिरहेको छ ।
उसले ८ म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । र, मेलबर्न १४ अंकका साथ शीर्ष स्थानमा छ । यता सिक्सर्सले ८ म्याचमा ६ मा जित र २ खेलमा हार बेहोर्दै १२ अंक जोडेर दोस्रो स्थान बनाएको छ ।
सिक्सर्सविरुद्ध मेलबर्नको प्लेइङ ११ः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, लान्स मोरिस, बेन डन्क, सेब गोच, सन्दीप लामिछाने, निक लार्किन, जोनाथन मेर्लो, हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल ।