काठमाडौंः प्रधानसेनापति पूर्णचन्द्र थापा आज बंगलादेश प्रस्थान गरेका छन् । उनी नेपाली सेनाकै ‘एम २८ स्काइ ट्रक’ विमानबाट बंगलादेश प्रस्थान गरेका हुन् ।
बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदको औपचारिक निमन्त्रणामा सात सदस्यीय भ्रमण दलसहित त्यसतर्फ प्रस्थान गरेको सैनिक मुख्यालयले जनाएको छ ।
प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति थियो ।
यसअघि प्रधानसेनापति थापालाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भ्रमणका क्रममा उनले बंगलादेशका विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटवार्तालगायत ऐतिहासिक स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम छ ।
प्रधानसेनापति थापा माघ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।