युएईः संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालमा शहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रूपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ ।
अबुधावीमा जारी विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभाको अवसरमा अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत उक्त रकम दिने घोषणा गरिएको हो । नेपाली टोलीको नेतृत्व गर्दै सभामा सहभागी उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले सहयोग स्वीकार गरे ।
साधारणसभाको विशेष समारोहमा मन्त्री पुनले उक्त सहुलियत कर्जा स्वीकार गर्दै नेपाललाई छनोट गरेकामा धन्यवाद दिए । मन्त्री पुनका अनुसार उक्त रकमबाट विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादन गरिनेछ । आइरिनाको प्राविधिक सहयोगमा विभिन्न मुलुकबीच प्रतिस्पर्धा भएको थियो ।
सात चरणमा भएको प्रतिस्पर्धामा नेपालसहित बुर्निका पासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्सका साथै एण्टिगुवा र बर्मुडा सहुलियतका लागि छानिएका थिए । उक्त फण्डबाट नेपालले ठूला बायोग्यास र नगरपालिकास्तरको फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजनाहरुमा न्यून ब्याजदरमा कर्जा प्रवाह गर्ने सुविधा प्राप्त हुने सम्मेलनमा सहभागी वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले जानकारी दिए ।
सभामा बोल्दै मन्त्री पुनले नेपालका लागि यो सहयोग महत्वपूर्ण रहेको भन्दै मध्यपूर्वका लगानीकर्ताहरुलाई नेपालको नवीकरणीय र अन्य पूर्वाधार निर्माण कार्यमा सहकार्यका लागि आह्वान गरे । यो सहयोगबाट नेपालका ६९ नगरपालिकामा फोहोरबाट उर्जा परियोजना लागू गरी उर्जा र प्रांगारिक मल उत्पादन गर्नुका साथै रोजगारीको सिर्जना हुने विश्वास व्यक्त गरे ।