काठमाडौंः दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ । अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण आएका छन् ।
आँधीका कारण विद्यत आपूर्ति अवरुद्ध हुँदा दशौँ हजार मानिस प्रभावित भएका छन् । केही घरहरू ध्वस्त भएका छन् भने कतिपय सडक डुबानमा परेका छन् ।
टोर्नेडो आउने भनेर शनिवार कैयौँ चेतावनी जारी गरिएका थिए । अलाबामा चाहिँ सबैभन्दा जोखिममा रहेको बताइएको छ । मध्यपश्चिमी क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ भने शिकागोका प्रमुख दुई विमानस्थलमा शनिवार सयौँ उडान रद्द गरिएका छन् ।
लुइजियानास्थित बोसिएर प्यारिश शेरिफ कार्यालयले जनाए अनुसार आँधीले शुक्रवार अस्थायी घर उडाउँदा एक ज्येष्ठ दम्पतीको ज्यान गएको हो । घरमाथि रूख ढल्दा अर्का एक जनाको ज्यान गएको छ । मौसमसम्बन्धी निकाय एनडब्ल्यूएसले अलाबामा राज्यमा पर्ने पिकेन्स काउन्टीमा तीन जनाको ज्यान गएको पुष्टि गरेको छ ।
अलाबामाको बर्मिङ्घमस्थित एनडब्ल्यूएसको कार्यालयले मृत्युबारे ट्विटरमार्फत् जानकारी गराउँदै भनेको छ, ‘यी चेतावनीहरूलाई गम्भीरतापूर्वक लिन आग्रह गरिन्छ ।’ टेक्ससमा दुई जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।
धेरै ठाउँमा बिजुलीका खम्बा र रूखहरू ढलेका विवरण प्राप्त भएका छन् भने आँधीले थुप्रै घरमा क्षति र्पुयाएको छ । मिजुरी, ओक्लोहोमा र आर्कन्सामा पनि आँधीले सम्पत्तिमा क्षति र्पुयाएको छ । आँधीबाट प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा आश्रय लिन तथा डुबानमा परेका सडकहरूमा ननिस्कन आह्वान गरिएको छ । बीबीसी