काठमाडौंः नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला भएको छ ।
२०७४ भदौ २१ गते नेपाल र चीनका वाणिज्य सहसचिवस्तरीय बैठकले अन्तिम रूप दिएको पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल) अनुसार नै चीनका बन्दरगाह उपयोगको सुविधा नेपालले पाएको हो ।
दुई देशबीच त्यतिबेला भएको सहमति अनुसार नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि चीनका तियान्जिन, सेन्जेन, लियान्युगाङ र झ्याङ्झियाङ सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह उपयोग गर्न पाउने भएको छ । यो सहमति यही जनवरी १ देखि कार्यान्वयनमा आएको हो ।
बन्दरगाहबाहेक दुई देशबीच थप नाका प्रयोगमा पनि सहमति जुटेको छ । जस अनुसार अबदेखि चीनतर्फ पारवहनका लागि रसुवा, कोदारी र यारी तथा द्विपक्षीय व्यापारका लागि किमाथाङ्का, नेचुङ (कोराला) र ओलाङ्चुङ्गोला गरी छवटा नाका प्रयोग गर्न सकिनेछ । नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म आउन जानसक्ने सहमति पनि भएको छ ।
नेपालले चीनको बन्दरगाह उपयोग गरेको अवस्थामा खासगरी दक्षिण कोरिया, जापान र ती देशको नजिकका देशबाट सामान ल्याउँदा नेपाललाई सहज हुनेछ । त्यस्तै भारतसँगको निर्भरता पनि घट्दै जाने अपेक्षा गरिएको छ । नेपालका व्यापारीले हाल भारतका दुईवटा बन्दरगाहमार्फत नेपालमा सामान आयात निर्यात गर्दै आएका छन् ।
भारत नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय व्यापार साझेदार हो । भारतपछि नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय व्यापार चीनसँग हुँदै आएको छ । भन्सार विभागको चालू आर्थिक वर्षको पाँच महिनासम्मको तथ्याङ्क अनुसार नेपालले भारतबाट तीन खर्ब ४९ अर्ब ६३ करोड रुपियाँको आयात गरेको छ भने ३२ अर्ब ५६ करोड रुपियाँको निर्यात गरेको छ ।
त्यस्तै चीनबाट यस अवधिमा एक खर्ब दुई अर्ब ४७ करोड रुपियाँको आयात भएकोमा ८६ करोड ३२ लाख रुपियाँको मात्र त्यहाँ निर्यात भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।