एजेन्सीः नेयमारले दुई गोल गरेपनि साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा मोनाकोसँग बराबरीमा रोकिएको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजी मोनाकोसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । प्रतिस्पर्धात्मक खेलमा पीएसजीका लागि नेयमारले दुई गोल गरे ।
पीएसजीले अर्को गोल मोनाकोबाट उपहार पाएको थियो । मोनाकोका गिल्सन मार्टिन्स, विसाम विन यडर र इस्लाम स्लिमानीले गोल गरे ।
नेयमारले खेलको तेस्रो मिनेटमै खाता खोलेका थिए । साँतौ मिनेटमा मोनाकोटा गिल्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । १३औं मिनेटमा विसाम विन यडरले गोल गर्दै मोनाकोलाई अगाडी बढाए । २४औं मिनेटमा फोडे बालोको प्रहार आत्मघाती गोलमा परिणत भएपछि खेल पुनः बराबरी भयो ।
४२औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अगाडी बढाए । ७०औं मिनेटमा मोनाकोका इस्लाम स्लिमानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकियो ।