एमएम कपः समूह चरणका खेल सकिए, को–को पुगे सेमिफाइनल ?

इनरुवाः मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समूह चरणको खेलहरू सकिएका छन् ।

सोमबार इनरुवा रंगशालामा सम्पन्न समुह ‘डी’ अन्तर्गतको अन्तिम खेलमा मलेसियाले गण्डकी प्रदेशलाई १९२ रनको विशाल अन्तरले पराजित गर्यो । जित हात परेता पनि मलेसिया सेमीफाइनल पुग्न भने असफल रह्यो । समुह ‘डी’ अन्तर्गत यस अघिनै दुई खेलमा जितको साथ सुदूरपश्चिम प्रदेश सेमीफाइनल प्रवेश गरिसकेको छ । गण्डकी प्रदेशले भने दुवै खेलमा हार बेहोर्यो ।

खेलमा मलेसिया पहिले ब्याटिंग गर्दै दिएको २९९ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी प्रदेशले २७.२ ओभरमा १०६ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । गण्डकीको लागि बिपिन खत्रीले सर्वाधिक ४२ रन, प्रभिन ढकालले अविजित १९ रन तथा बिधान श्रेष्ठले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियाको बलिंगमा सुहारिल फेटरिले सर्वाधिक ४ विकेट लिए भने अनवर रहमान र भिजय उन्नीले समान ३र३ विकेट लिए । यस अघि टस जितेर ब्याटिंग रोजेको मलेसियाले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २९८ रनको योगफल तयार गरेको थियो ।

मलेसियाको लागि ओपनर ऐनुल हकिमले सर्वा्धिक ८९ रन बनाए जुन क्रममा १११ बलमा ११ चौका प्रहार गरे । यस्तै अर्का ओपनर भुषण सेभ र भिरनदिप सिंहले समान ५० रन बनाए । भुषणले ३४ बलमा ८ चौका र १ छक्का तथा भिरनदिपले ४५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै एहमद फैजले ३१, मोहम्मद अरिफले २०, मोहम्मद हफिजले १५ तथा नजरिल रहमानले १३ रन बनाए ।

गण्डकी प्रदेशको बलिंगमा देब्रे हाते स्पिनर बिपिन खत्रीले सर्वा्धिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ५१ रन खर्चिए । चन्द्र कान्त पौडेलले २ तथा गोभिन्द प्रधानले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच ऐनुल हकिम चुनिए ।

प्रतियोगिता अन्तर्गत यसअघि समुह ‘डी’ अन्तर्गतको खेलमा मलेसियालाई सुदूरपश्चिमले ८ विकेटले पराजित गरेको थियो । यस्तै सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

माघ १ गते हुने पहिलो सेमिफाइनलमा प्रदेश नम्बर ३ र त्रिभुवन आर्मी क्लबले तथा माघ २ गते हुने दोश्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् ।

कमेन्ट गर्नुहोस्