बीपीएलः आन्द्रेको टिमविरुद्ध नेपालमा साग खेलेका शान्तोको शानदार ब्याटिङ

काठमाडौंः बंगलादेश प्रिमियर लिग (बीपीएल) को पहिलो क्वालिफायरमा खुल्ना टाइगर्सले आन्द्रे रसेल नेतृत्वको राजशाही रोयल्सलाई १ सय ५९ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको खुल्नाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५८ रन बनायो ।

उसका लागि ओपनर नाजमुल हुसेन शान्तोले उत्कृष्ट ब्याटिङ गरे । उनले ५७ बलमा ४ छक्का र ७ चौकाको मद्दतमा अविजित ७८ रन बनाए । जारी प्रतियोगितामा शान्तोले शतकसमेत बनाइसकेका छन् ।

उनले हालै नेपालमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) पनि खेलेका थिए । सागमा शान्तोले बंगलादेश–२३ टिमको नेतृत्व गर्दै स्वर्णपदक दिलाएका थिए ।

कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भएको खेलमा उनले नेपालविरुद्ध ६० बलमा अविजित ७५ रन बनाउँदै टिमलाई जिताएका थिए ।

पछिल्लो समय शान्तो शानदार ब्याटिङ गरिरहेका छन् । उनले २०१९ मा जिम्बाब्बेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

आज खुल्नालाई १ सय ५९ रनसम्म पुर्‍याउन शमसुर रहमानले ३२, कप्तान मुश्फिकुर रहीमले २१, मेहदी हसन मिराजले ८ र नजीबुल्लाह जर्दानले पनि अविजित १२ रनकाे याेगदान दिए । बलिङमा रोयल्सका मोहम्मद इर्फानले २ र रवी भोपाराले १ विकेट लिए ।

कमेन्ट गर्नुहोस्