छिपछिपे सहकारीले गर्‍यो क्रिकेट रंशगालालाई १ लाख ११ हजार सहयोग

काठमाडौंः चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ ।

यसैबीच जनस्तरबाट निर्माण भइरहेको यो रंगशालाका लागि नवलपुरमा रहेको छिपछिपे उपभोक्ता सहकारी सस्था लिमिटेडले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । अभियानमा जोडिएकोमा सहकारीलाई फाउण्डेशनले धन्यवाद दिएको छ ।

अन्तर्राष्ट्रियस्तरको २५ हजार दर्शक क्षमताको निर्माणाधिन क्रिकेट रंगशालाको अतिरिक्त यो परिसरभित्र दुईवटा अत्याधुनिक क्रिकेट अभ्यास मैदान, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडी पोखरी, ब्याडमिन्टन, टेनिस कोर्ट पनि बन्नेछन् । क्रिकेट रंगशालाको परिधि ४ सय ७१ मिटरको छ । केन्द्र भागबाट ७५ मिटरको हुनेछ । रंगशालामा सातवटा पिच बन्नेछन् । यहाँ अहिले पिच निर्माण भइरहेको छ । रंगशालाको ड्रेन निर्माण तथा प्रारम्भिक पिल्लरका लागि फाउन्डेसन हुँदै छ ।

कृषि तथा वन विश्वविद्यालयले २० विघा ६ कट्ठा क्षेत्रफल जग्गा फाउन्डेसनलाई उपलब्ध गराएपछि माघ १६ मा काठमाडौंमा रंगशाला निर्माणको घोषणा भएको थियो । त्यसको चार दिनपछि काम सुरु भयो । जेठ १५ मा केही स्थानीय आक्रमणमा उत्रिएपछि ठप्प भएको काम ३ महिनापछि भदौदेखि सुरु भएको हो ।

काँसघारी सम्याएर निर्माण कार्य सुरु भएको डेढ महिना भएको छ । क्रिकेट रंगशाला राष्ट्रिय आवश्यकता नै हो भन्ने बुझेर ‘नमूना नेपाल’ निर्माणको महाअभियान थाँती राखी रंगशाला निर्माण सुरु गरेको फाउन्डेसनले अवरोधबीच आफ्नो अभियान स्थगित गर्न सकेन ।

६ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र त्यसको २ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । एक वर्ष बितिसकेको छ । असोजमा मात्र डीपीआर सार्वजनिक गरिएको थियो र मंसिरदेखि यहाँ युद्धस्तरमा काम सुरु भएको हो ।

कमेन्ट गर्नुहोस्