‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्…’ को सिको गर्दै गाउँपालिका

मुग्लिनः संघीय संसद बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले गाउँसभा बैठक आयोजना गरेको छ ।

सोमबार दिउँसो २ बज्न लागेको थियो। । बैठक कक्षमा राष्ट्रिय धुन बज्दा सबै आ–आफ्नो आसनबाट उठे । केहीबेरमा बैठक प्रारम्भ भयो । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई गाउँपालिका अध्यक्ष तथा गाउँसभाध्यक्ष गीताकुमारी गुरूङले संशोधित आर्थिक विधेयक २०७६ सभामा प्रस्तुत गर्न अनुमति दिइन् ।

विधेयकलाई पालिका सदस्य बलराम त्रिपाठीले समर्थन जनाए । विधेयकमाथि केही सदस्यले आफ्नो धारणा तथा सुझाव राखे । अध्यक्ष गुरूङले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै ‘विधेयक पक्षमा हुन्छ भन्नेले हुन्छ भन्नुहोस्, विधेयकको विपक्षमा हुन्न भन्नेले हुन्न भन्नुहोस्’ भने । सदस्यले हात उठाएर ‘हुन्छ’ भने ।

याे पनि पढ्नुस  क्रिकेट रङ्गशाला निर्माणमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सबैले हात उठाएर सहमति जनाएपछि गाउँसभाध्यक्ष गुरूङले हुन्न भन्ने आवाज नआएकाले विधेयक सम्मानित सभाबाट पास भएको घोषणा गरे । सबै सदस्यले ताली बजाइ विधेयक पारित गरे ।

यसैबीच अन्य विधेयक सम्बन्धित विषयका संयोजकबाट क्रमशः प्रस्तुत भयो । ती विधेयकलाई क्रमशः सोही प्रक्रियामा अघि बढाइयो । गाउँपालिकामा व्यवस्थापिका संसद्कै शैलीमा गाउँसभा बैठक आयोजना गरिएको पहिलो पटक भएको बताइन्छ ।

प्रस्तुत विधेयकको बारेमा छलफल गर्न चाहने सदस्यलाई तीन मिनेटको समय प्रदान गरिएको थियो । प्रस्तुत विधेयकमाथि सदस्यले उठाएको प्रश्नको जवाफ सम्बन्धित विषयका संयोजकले जवाफ दिएका थिए । कतिपय बोल्ने सदस्यले सभाध्यक्षलाई ‘सभामुख’ भनेर सम्बोधनसमेत गरेका थिए ।

याे पनि पढ्नुस  नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गाउँसभामा सोमबार संशोधित आर्थिक विधेयक २०७६, सहकारी विधेयक, संशोधित विनियोजन विधेयक २०७६, भवन निर्माणसम्बन्धी विधेयक, स्वास्थ्य संस्था दर्ता सञ्चालन तथा नियमन विधेयक २०७६, न्यायिक समितिसम्बन्धी विधेयक २०७६ गरी छ वटा विधेयक प्रस्तुत भएका छन् । प्रस्तुत विधेयकको सोमबारदेखि नै दफाबार छलफल सुरू भएको छ ।

झन्डै तीन घन्टा बसेर गाउँसभाको बैठक सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष गुरूङले स्थगित गरे । उनले आगामी बैठक माघ २० गते बस्ने जानकारी दिए । गाउँसभामा गाउँसभा सदस्यबाहेक पत्रकार र कर्मचारीलाई मात्र प्रवेशको अनुमति थियो ।

याे पनि पढ्नुस  वडाध्यक्षमाथि बोक्साको आरोपः कालोमोसो दलेर जुत्ताको माला लगाइयो, मलमुत्र खुवाउने प्रयास

चेपाङ जनप्रतिनिधिको सक्रिय सहभागिता

झन्डै तीन घन्टा चलेको उक्त गाउँसभामा चेपाङ जनप्रतिनिधिको सक्रियता प्रशंसनीय थियो । वडासदस्य तथा गाउँसभा सदस्य खिरबहादुर चेपाङले सबैभन्दा बढी विधेयकमा आफ्नो भनाइ राख्न हात उठाए ।

उनले तीन वटा विधेयकमा आफ्नो सुझाव र केही विमति राखे। यसैबीच अर्का सदस्य डम्मरकुमारी चेपाङले पनि छलफलमा आफ्नो भनाइ राखे । यसअघिको गाउँसभामा खासै सक्रियता नदेखाएका सदस्यले यस पटकको गाउँसभामा भने खुलेरै आफ्नो भनाइ राखे । रासस

कमेन्ट गर्नुहोस्