बहसमा प्रदेश १ र ५ राजधानीः कहाँ र कहिले लाग्ला टुंगो?

काठमाडौंः लामो समयदेखि प्रदेश नं. १ को नामाकरण हुन नसकेको अवस्थामा पछिल्लो समयमा प्रदेश नं. ३ ले बाग्मती प्रदेशको नामकरण गरेपछि यहाँ पनि बहस सुरु भएको छ । सगरमाथा र कोशीको बिषयमा आन्तरिक रुपमा बहस चल्दै आएको नेकपाका एक प्रदेश नेताले बताए ।

सगरमाथाको पहिचान विश्वब्यापी रहेको र नेपालको नै गौरव रहेकाले प्रदेशसंग यसलाइ नगाँस्ने र कोशी प्रदेश नाममा सहमति हुनसक्ने ती नेताले जनाए ।

झापामा एकको एक विद्वत सभामा प्राज्ञ तथा इतिहासविद् डा. जगमान गुरुङले कोशी नदीको नाममात्र नभएर यस क्षेत्रको सभ्यता भएको भन्दै प्रदेशको नामकरण गर्दा कोशी राख्दा यहाँका आदिबासी जनजातीको शिर ठाडो हुने बताएका थिए । कोशी खोलाको मात्र नाम होइन ईतिहास हेर्ने हो भने यो अहिले आदिबासी तथा जनजातीले उठाउदै आएको पहिचानयुक्त सर्वसम्मत नाम हो, उनको भनाइ थियो ।

सगरमाथा, कोशी, कञ्चनजङ्घा, मेची, किरात, लिम्बुवान, पुर्वी प्रदेश लगायतका नामहरुको बिषयमा बहस हुँदै आएको छ । कर्णाली र बाग्मती यहाँका प्राचिन नदीहरुको नाममा प्रदेश नामकरण भएपछि प्रदेश नं. १ को कोशी प्रदेश नामकरणका लागि बलियो सम्भावाना बढेको पाईन्छ । नेकपाले अनौपचारिक छलफलहरुमा यस बिषयमा सहमति नजिक पुग्न लागेको श्रोतको भनाइ रहेको छ ।

२०७४ फागुन २ गते प्रदेश ६ ले सर्वसम्मत रूपमा आफ्नो प्रदेशको नाम ‘कर्णाली’ राखेको थियो । यसपछि प्रदेश ४ ले २०७५ साल असार २३ आफ्नो नाम गण्डकी प्रदेश राखेको थियो । दुइवटै प्रदेशको नामकरण यहाँका प्राचिन नदीहरुबाट भएकाले प्रदेश नं. १ को नामकरण पनि यसको प्रभावबाट मुक्त नहुने अड्कलबाजि शुरु भएको छ ।

संविधानको धारा २८८ को उपधारा २ ले ‘प्रदेशको राजधानी प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुनेछ’ भन्ने उल्लेख भएकाले नेकपाले नामको बिषयमा जे सहमति जुटाउछ त्यहि नै हुने प्रवल सम्भावाना रहेको छ । नेकपाका एक प्रदेश सदस्यका अनुसार पार्टीभित्र अनौपचारिक रुपमा कुराकानी भएपनि औपचारिक रुपमा नामको बिषयमा छलफल हुन सकेको छैन ।

सरकारको तयारी

प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीका अनुसार माघको तेश्रो सातादेखि शुरु हुने प्रदेशको संसद अधिवेसनले नामको टुंगो लगाउने तयारी भएको छ । शुरुमा नै टेवल गर्ने की अन्तिम समयमा गर्ने भन्ने अन्योल रहेको छ । ‘हामी सकेसम्म सबैको सहमतिमा नै नामको बिषयमा निर्णयहोस भन्ने चाहान्छौ र यहि कारणले गर्दा केहि ढिला भएको हो’ कार्कीले भने । नेकपाका नेता समेत रहेका मन्त्री कार्कीले कोशी प्रदेश नामकरणको बिषयमा पार्टी भित्र आन्तरिक रुपमा छलफल र सहमति भएको भन्ने बारेमा भने उनले केही बताउन चाहेनन् ।

प्रदेश नं ३ को राजधानी र नामाकरणको टुङ्गो लागेसँगै प्रदेश नं ५ को राजधानीको विषयले चर्चा पाएको छ । प्रदेश नं ३ को राजधानीको नाम वाग्मती र राजधानी हेटौँडा रहने प्रस्ताव प्रदेशसभाले आइतबार पारित गरेपछि प्रदेश नं ५ को राजधानीबारे चर्को बहस शुरु भएको छ ।

प्रदेशसभाको पहिलो बैठकले राजधानी रहने स्थान र नामकरण गर्ने संवैधानिक प्रावधान रहे पनि प्रदेश नं ५ मा भने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । आगामी माघ ५ गतेदेखि शुरु हुने प्रदेशसभाको पाँचौँ हिउँदे अधिवेशनले प्रदेशको नामाकरण र राजधानीको विषय टुङ्गो लगाइने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रमुख सचेतक भूमिश्वर ढकालले बर्ता ।

‘लामो समय भएका कारण राजधानीको विषयले चर्चा पाउनु स्वभाविक हो’, आज बुटवलमा आयोजित साक्षात्कारमा ढकालले भने, ‘प्रदेशसभाको पाँचौं अधिवेशनबाट यसको छिनोफानो हुन्छ ।’ प्रदेशसभाबाट गठित राजधानी विशेष समितिले प्रतिवेदन बुझाइसकेका कारण अबको प्रदेशसभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने उनले बताए । प्रदेशका जनतालाई पायक पर्ने र जनताको भावनाको कदर हुने हिसाबले प्रदेशसभाले राजधानीको विषय टुङ्गो लगाउने प्रमुख सचेतक ढकालले बताए ।

उनले दलभित्रको एकता मात्र नभई प्रदेशसभाभित्रको एकताका लागि राजधानी र नामाकरणको टुङ्गो लाग्न ढिलाइ भएका कारण अब प्रदेशसभाबाट एकताकै आधारमा तय हुने बताए । राजधानी विशेष समितिले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने विषयमा प्रदेशका १२ वटै जिल्लामा पुगेर जनताको राय–सुझाव लिएको छ ।

समितले प्रतिबेदन बुझाइसकेकाले अबको प्रदेशसभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने नेपाली काँग्रेसका सचेतक तथा विशेष समितिका सदस्य निर्मला क्षेत्रीले बताइन् । स्थायी राजधानी र नामाकरणका लागि भनेर नै प्रदेशसभाले विशेष समिति गठन गरेकाले समितिले दिएको सुझावका आधारमा राजधानी र नामाकरणको टुङ्गो लाग्ने उनको भनाइ छ । –गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्