काठमाडौंः अष्ट्रेलिया विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको पहिलो म्याचमा भारतीय टिमका युवा ब्याट्सम्यान श्रेयस अय्यर पनि सस्तैमा आउट भएका छन् । उनी सिरिजको पहिलो खेलमा ४ रनमै आउट भएका हुन् । श्रेयसलाई मिचेल स्टार्सकले ३२.५ ओभरमा विकेटकीपर एलेक्स क्यारीको हातबाट क्याचआउट गराए ।
यसअघि चौथो विकेटका रुपमा भारतले कप्तान विराट कोहलीलाई पनि सस्तैमा गुमायो । उनी ३१.२ ओभरमा व्यक्तिगत १६ रनमा आउट भए । कप्तान कोहली एडम जम्पाको सिकार भएका हुन् । योसँगै भारतमा जम्पाले कोहलीलाई चौथोपटक आउट गर्न सफल भएका छन् ।
टस हारेर ब्याटिङको मौका पाएको भारतले यो समाचार तयार पार्दासम्म ३५ ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ ।
शिखर शतक बनाउन असफल
भारतीय टिमका ओपनर शिखर धवन ७४ रनमा आउट हुन पुगे । उनी २८.५ ओभरमा व्यक्तिगत ९१ बलमा ७४ रन बनाएको अवस्थामा क्याच आउटको सिकार भएका हुन् ।
शिखरलाई प्याट कमिन्सले एश्टन अगरको हातबाट क्याच आउट गराए ।
अर्धशतक बनाउन चुके केएल
अष्ट्रेलिया विरुद्धको वानडे सिरिजको पहिलो खेलमा ओपनर केएल राहुल अर्धशतक बनाउन चुके । उनी ३ रनले अर्धशतक बनाउन चुकेका हुन् । केएल २७.१ ओभरमा व्यक्तिगत ४७ रनमा ‘क्याच आउट’को सिकार हुन पुगे । उनलाई एश्टन अगरले स्टिभ स्मिथको हातबाट क्याच आउट गराए ।
शिखरले वानडेमा पूरा गरे २८ औँ अर्धशतक
भारतीय क्रिकेट टिमका ओपनर शिखर धवनले अष्ट्रेलियासँगको सिरिजको पहिलो खेलमै अर्धशतक बनाइसकेका छन् । उनले ६६ बलमा ८ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । वानडे क्रिकेटमा शिखरको यो २८ औँ अर्धशतक हो ।
सस्तैमा आउट भए उपकप्तान शर्मा
भारतले आज पहिलो विकेटका रुपमा ४.३ ओभरमा उपकप्तान रोहित शर्मालाई गुमायो । उनी व्यक्तिगत १० रनमा आउट हुन पुगे । रोहितलाई मिचेल स्टार्कले डेबिड वार्नरको हातबाट क्याच आउट गराएका थिए ।
पहिलो खेलमा अष्ट्रेलियाको प्लेइङ ११ः डेविड वार्नर, आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, मार्नस लाबुस्ने, एलेक्स क्यारी, एस्टन टर्नर, एश्टन अगर, प्याट कमिन्स, मिचेल स्टार्क, केन रिचर्डसन र एडम जम्पा ।
पहिलो खेलमा भारतको प्लेइङ ११ः शिखर धवन, रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), ऋषभ पन्त, श्रेयस अय्यर, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शामी, र जसप्रीत बुमराह ।