भारतबाट १ करोड बढी रकम चोरेर ल्याउने पक्राउ

धनगढीः भारतबाट ६५ लाख भारतीय रुपैयाँ (नेपाली एक करोड चार लाख) चोरेर ल्याउने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाजुराको बुढीगंगा–१ डुङ्ग्रीका २९ वर्षीय जहर सिंह थापा, २८ बर्षिया मना कुमारी खड्का (थापा) र कैलालीको गौरिगंगा–२ कि ३२ वर्षीया बिन्दा कुमारी थापा (रावल) रहेका छन् ।

भारतको दिल्ली निवासी विश्वेश्वर अग्रवालको कार्यालयबाट गरगहना र नगद चोरी भएको भारतीय राजदूतावासले कैलाली प्रहरीलाई खबर गरेको थियो । त्यसपछि अनुसन्धान थालेको प्रहरीले बाजुराका जहर सिंह थापा र मना कुमारी खड्का थापाले पैसा चोरेको र गौरीगंगाका बिन्दा कुमारी थापा (रावल) ले चोरीको पैसा आफ्नो घरमा लुकाई राखेको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले कैलालीको गौरीगंगा–२ मा बिन्दा कुमारी थापा (रावल) को कच्ची घर कोठा भित्र सुत्ने खटिया मुनी खाल्टो खनी टिनको बाकस भित्र प्लास्टिक र कपडामा बेरी लिपपोत गरी पुरेर लुकाइरहेको अवस्थामा ६५ लाख भारतीय रुपैयाँ सहित बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । उनीहरूले मंसिर ४ गते भारतबाट रकम चोरेर ल्याएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्