सर्लाहीः लाख लगानी गरी करोडको तमसुक बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाही बरहथवाका रामबाबु राय यादवविरुद्ध मंगलबार अदालतमा ठगी मुद्दा दर्ता भएको छ ।
यही पुस २३ गते पक्राउ परेका मिटर ब्याजी यादवमाथि मङगलवार जिल्ला अदालत सर्लाहीमा ठगी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको मुद्दा फाँटका प्रहरी निरीक्षक उमाशङ्कर गुप्ताले जानकारी दिए ।
प्रहरीले यसअघि यादवलाई प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा अदालतबाट म्याद थप गरी हिरासतमा राखेको थियो । अनुसन्धानमा प्रमाण जुटाउन भन्दै प्रहरीले सोमवार मात्रै यादवको बरहथवा नगरपालिका–१०, सीतापुरस्थित घरमा खानतलासी गरेको थियो ।
मंगलबार ठगी मुद्दा दर्ता भएसँगै यादवविरुद्ध अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद दिएको प्रहरी निरीक्षक गुप्ताले बताए । यादवविरुद्ध ठगीको आरोपमा पाँच जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । उनीहरुको जाहेरीकै आधारमा मुद्दा दायर गरी विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय जनता पार्टी राजपा नेपालका केन्द्रीय सदस्य रहेका यादवले ऋण प्रवाह गर्दा चर्को ब्याज असुली गरेको, दिएको ऋण भन्दा धेरैको तमसुक बनाएको, ऋण लिँदा दृष्टिबन्धक राखेको जग्गा आफूखुशी विक्री गरेको जस्ता गुनासो पीडितले राखेका छन् । तर यादवको पार्टी राजपा नेपालले भने उनी निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै आएको छ ।