कुन जातिले कसरी मनाउँछन् माघे संक्रान्ति ?

काठमाडौंः सनातन संस्कृतिका अनुयायीहरू बुधबार माघे संक्रान्ति मनाउँदैछन्। माघ १ को बिहान सबेरै नदी, तलाउ जस्ता पवित्र स्थलमा स्नान गरी देवता र पितृहरूलाई तर्पण गर्ने परम्परा छ।

माघे संक्रान्तिमा ब्राम्हण, पुरोहितहरूबाट मैना सुन्ने चलन पनि छ। मैना सुनाउनुको मुख्य उद्देश्य अयन, ऋतु, तिथि र बार आदिको जानकारी दिनु हो।

पर्व एकः नाम अनेक

सनातन धर्मावलम्बीले माघेरमकर संक्रान्ति मनाइरहँदा थारु समुदाय नयाँ वर्षको रूपमा माघीको उत्सव मनाइरहेका छन्। यस्तै, काठमाडौं उपत्यकाको नेवार समुदाय ‘घ्यो चाकु सन्हु’मा रमाउँदैछ।

तराईमा तिला संक्रान्ति मनाउने परम्परा छ। माघे सक्रान्ति पर्व मगर समुदायको मुख्य पर्व हो। उनीहरुले यस पर्वलाई माघे सकराती भनी मनाउँछन्। मगर समुदायमा आजको दिनमा चेलिवेटी पुज्ने गरिन्छ। लिम्बु समुदायले माघे संक्रान्तिलाई कक्फेक्‍वा तङनामको रुमा मनाउँदै आएका छन्। उनीहरुले आजको दिनलाई येले सम्बत् सुरु भएको दिनको रुपमा नयाँ वर्षको रुपमा मनाउँछन्।

याे पनि पढ्नुस  माघ १ गते माघे संक्रान्तिमा सार्वजनिक विदा

के हो माघे संक्रान्ति ?

सौरमानको पात्रोअनुसार वर्षमा बैशाखदेखि चैतसम्मका बाह्र महिना छन्। ज्योतिषशास्त्र अनुसार यी महिनाहरूमा मेषदेखि मीनसम्मका बाह्र राशीमा सूर्य रहने गर्दछ। सूर्यले एक राशीमा एक महिना बिताउने गर्दछ। यसरी नै सूर्य एक राशीबाट अर्को राशिमा प्रवेश गर्ने दिन अथवा महिनाको पहिलो दिनलाई संक्रान्ति भनिन्छ। यसैले माघ १ गतेलाई माघे संक्रान्ति भनिएको हो। यो दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले मकर संक्रान्ति पनि भनिन्छ।

सूर्य उत्तरायण हुने दिन यो दिन सूर्य दक्षिणायनबाट उत्तरायण हुने भएकाले (निरयण मान्यताअनुसार) यस दिनलाई महत्त्वका साथ हर्ने गरिन्छ। अयन भनेको सूर्यको बाटो हो। सूर्य वर्षभरि दुई वटा बाटोमा हिँड्ने गर्छ दक्षिण र उत्तर भएर। यसैलाई दक्षिणायन र उत्तरायण भनिन्छ। साउने संक्रान्तिदेखि ६ महिना सूर्य दक्षिणतर्फ रहन्छ। यसैलाई दक्षिणायन भनिन्छ।

याे पनि पढ्नुस  माघे संक्रान्तिमा कमल थापाद्वारा देवघाटमा स्नान

माघे संक्रान्तिदेखि ६ महिना सूर्य उत्तरतर्फ रहने हुनाले यस अवधिलाई उत्तरायण भनिन्छ। माघे संक्रान्तिको परिकार काठमाडौं उपत्यकामा सख्खर पकाएर मसला हाली बनाइएको चाकु, उसिनेको तरुल, तिलको लड्डु पालुंगोको तरकारी लगायतका पदार्थ खाने चलन छ। पहाडी भेगमा खिचडी, फुलौरा, सेल, गुड र तिलका परिकार बनाइन्छ।

तराई–मधेश क्षेत्रमा तिल र गुडका खानेकुरा बनाएर खाइन्छ। ‘माघे संक्रान्तिमा यस्ता पदार्थ खानुको अर्थ चिसोले कठयांग्रिएको शरीरलाई उष्णता प्रदान गर्नु हो’ चिकित्सक तथा आयुर्वेदका ज्ञाता डा। सम्मोदवर्धन कौण्डिन्न्यायन भन्छन्, ‘यस्ता खानेकुराले शरीरलाई बल पनि दिन्छ।’ उनका अनुसार यस्ता खाद्य पदार्थ संक्रान्तिमा मात्र नभई महिनाभरि नै खाने सल्लाह आयुर्वेदले दिएको छ। यो दिन घाममा बसेर तेल लगाउने चलन पनि छ। यो परम्परा पनि स्वास्थ्यका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

याे पनि पढ्नुस  पश्चिम तराईंमा थारु समुदायको नयाँ वर्ष माघीको रौनक

दोभान र त्रिवेणी स्नान माघे संक्रान्तिमा विशेषगरी त्रिवेणी (तीन नदीको संगम स्थल) र दोभान (दुई नदीको संगम) मा स्नानको महत्त्व छ। नवलपरासीको त्रिवेणी, रिडी क्षेत्रमा रहेको रुरु तीर्थस्थल, चितवनको देवघाट, नुवाकोटको वेत्रावती आदिमा मकर स्थान गर्नेको मेला लाग्छ। यस्तै, झापाको पूर्व–पश्चिम राजमार्गमा पर्ने कनकाई नदी किनारमा माई मेला लग्दछ। इलाममा पनि माइबेनी मेला लाग्ने गर्दछ ।

उपत्यकामा शंखमूल, वागमती आदि क्षेत्रमा पनि श्रद्धालुको घुइँचो लाग्छ। महिनाकै महत्त्व संक्रान्ति मात्र होइन सनातन धर्ममा माघ महिनाकै विशेष महत्त्व भएको बताइन्छ। विवाह, व्रतबन्ध लगायतका मांगलिक कार्य गर्न पनि माघ उपयुक्त महिना हो।

सूर्यको किरण तेजिलो हुँदै जाने, विस्तारै दिन लामो हुँदै जाने, चिसो कम हुँदै जाने लगायतका कारण पनि माघलाई विशेष महत्त्व दिइएको हो।

कमेन्ट गर्नुहोस्