काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्समा आवद्ध नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफ्नो नवौं म्याच खेल्दै छन् । टिमको भने यो दशौं म्याच हो । ९ खेल खेल्दा एक म्याचमा मात्र सामान्य चोटका कारण विश्राम पाएका सन्दीपले बाँकी खेलमा भने नियमित मौका पाउँदै आएका छन् ।
आज पर्थ स्कारेचर्सविरुद्ध पनि उनले प्लेइङ ११ मा माका पाउने सम्भावना बलियो देखिन्छ । मेलबर्नले मंगलबार घोषणा गरेको १३ सदस्यीय टोलीमा पनि सन्दीप अटाइसकेका छन् ।
मेबलर्न र पर्थबीचको खेल दिउँसो ३ः५५ बजेदेखि सुरु हुनेछ । जारी प्रतियोगितामा दुवै टोली बलियो देखिएका छन् । स्टार्सले ९ म्याच खेल्दा ८ मा जित हासिल गर्दै १६ अंक जोडेको छ । र, मेलबर्न तालिकाको शीर्ष स्थानमा छ । यता पर्थले ९ म्याच खेल्दा ५ मा जित निकालेको छ ।
मिचेल मार्श नेतृत्वको पर्थले ९ अंक जोड्दै तेस्रो स्थान बनाएको छ । दशौं म्याचमा मेलबर्नले एक खेलाडी मात्र परिवर्तन गरेको छ । उसले जोनाथन मेर्लोलाई विश्राम दिँदै नाथन कल्टर नाइललाई १३ सदस्यीय टिममा समावेश गरेको छ ।
पर्थविरुद्ध मेलबर्नको सम्भावित प्लेइङ ११ः मार्कस स्टोइनिस, हिल्टन कार्टराइट, ग्लेन म्याक्सवेल (कप्तान), नाथन कल्टर–नाइल, बेन डंक, सेब गोच, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, हरिस रौफ र डानियल वर्रल ।
बुधबार पहिलो खेलमा मेलबर्न रेनेगेड्स र सिड्नी थन्डर भिड्दै
बीबीएलमा आज २ खेल हुँदै छन् । पहिलो खेलमा मेलबर्न रेनेगेड्स र सिड्नी थन्डर भिड्दै छन् । सिड्नी र मेलबर्नबीचको खेल दिउँसो १२ः५५ बजेदेखि सुरु हुनेछ । जारी प्रतियागितामा सिड्नी ९ अंकका साथ छैटौं स्थानमा छ । यता गत विजेता रेनेगेड्सले भने ९ म्याच खेल्दा अंक विहिन छ ।