आस्था राउतलाई के र कति सजाय होला ?

काठमाडौंः गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिएकी छन् ।

उजुरीमा श्रेष्ठले आफू ड्यूटीमा रहँदा राउतले गालीगलौज र अभद्र व्यवहार गरेको उल्लेख गरेकी छन् । विमानस्थल प्रहरी कार्यालय झापाले उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।

उजुरीपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले राउतविरूद्व अभद्र व्यवहार मुद्दा चलाउने तयारी गरेको छ । अभद्र व्यवहारअन्तर्गत एक हजारदेखि १० हजार रूपैयाँसम्म जरिवाना र १ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ ।

त्यस्तै, भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर मुलुकी अपराध संहिता, २०७४ मा भेदभावपूर्ण व्यवहार गर्न नहुने उल्लेख छ । भेदभावपूर्ण व्यवहार गर्न गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । आस्थालाई कुन व्यवस्था बमोजिम कारवाही गर्ने भन्नेबारेमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।

यता, गायिका आस्था राउतले पनि आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएको भए पनि उनले त्यसबारेमा कानूनी प्रक्रिया अगाडि बढाएकी छैनन् । आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउने आस्थाले फेसबुकमार्फत माफीसमेत मागि सकेकी छन् ।

कमेन्ट गर्नुहोस्