बिहेको निम्तो कार्ड छपाईमा जन्मदर्ता प्रमाणपत्र अनिवार्य !

सल्यानः सल्यानका छापाखानाका संचालकहरूले बालबिवाहलाई कम गराउन सामुहिक प्रयास थालेका छन् । बिवाहमा छापिने कार्डमा २० बर्षभन्दा कम उमेर भएमा कार्ड छपाइ रोक्ने प्रतिबद्धता जनाएका हुन् ।

उनीहरुले बिहेको निम्तो कार्ड छपाईमा जन्म दर्ताको कागज अनिवार्य माग्ने प्रतिबद्धता जनाएका हुन् । बालविवाह रोक्न प्रहरीले थालेको अभियानमा यहाँ रहेका छापाखाना तथा अफसेट प्रेस सञ्चालकले सहयोग पुर्याउन निम्तो कार्ड छपाईमा जन्म दर्ताको कागज अनिवार्य बनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानमा भेला भएका प्रेस तथा छापाखानाका सञ्चालकले कार्ड छपाईमा जन्म दर्ता अनिवार्य गर्ने प्रतिवद्धता गरेका हुन् । ‘बाल विवाह समाजिक रुपमा अपराध भएकाले यसको अन्त्यका लागि आ–आफ्नो क्षेत्रबाट योगदान आवश्यक छ’ शारदा नगरपालिका–२ खलंगामा रहेको गीता अफसेट प्रेसका सञ्चालक प्रकाशसिह थापाले भने ।

उनका अनुसार बिहेमा निम्तो कार्ड बाँड्ने चलन छ । प्रेसमा छपाईका लागि बरबधुको तर्फवाट कार्ड छपाई हुने गरेको छ । यदि केटा केटीको उमेर २० वर्षमुनि भए कार्ड छापिने छैन । उमेर नपुग्दै हुने बिवाहले सामाजिक, आर्थिक क्षेत्रमा असर पुर्‍याएको छ ।

यसलाई न्यूनीकरण गर्न सकारात्मक सन्देशका लागि आफूहररूले प्रेसमा बिहेका निम्तो कार्ड छाप्नु अघि केटा र केटीको जन्म दर्ताको कागज माग्ने निणर्य गरेको बनगाड कुपिण्डे नगरपालिका–१ मा रहेको दिपज्योति छापाखाना सञ्चालक दिपेश केसीले जानकारी दिए ।

सल्यान जिल्लामा सञ्चालनमा रहेका आधा दर्जन अफसेट प्रेस तथा छापाखानाले वाल विवाह न्यूनीकरण गर्ने प्रतिवद्धता गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार सल्यानमा बालबिवाह न्यूनीकरण लागि प्रहरीले जिल्लाब्यापी अभियान सञ्चालन गरेको छ ।

स्थानीय तह र प्रहरीको सहकार्यमा हिलेसम्म बनगाड कुपिण्डे नगरपालिका, शारदा नगरपालिका, त्रिवेणीगाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा आकस्मिक नम्वर सहित बाल बिवाह रोक्न घर–घरमा स्टिकर टाँस गरिएको छ ।

सल्यानमा रहेका ४६ हजार घर धुरीमा वालविवाह रोक्न जनचेतामूलक कार्यक्रम लिएर पुग्ने प्रहरीले जनाएको छ । सबै पक्षसँग समन्वय सहकार्य गरेर वालविवाह रोक्न लागेका छौ सल्यानका प्रहरी प्रमुख डिएस पी ढकेन्द्र खतिवडाले भन्नुभयो अहिले सम्म तीन जना पुरोहित र सातजना अभिभावकलाई कानुनी कार्वाही गरिएको छ ।

जिल्लामा क्रियाशिल पुरोहित तथा ज्योतिषले पनि बालविवाह कम गर्ने प्रतिवद्धता जनाएका छन् । शारदा नगरपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानले आयोजना गरेको कार्यक्रममा सहभागि ९४ जना पुरोहित तथा ज्योतिषीले आफूहरूले २० वर्ष मुनीको उमेरमा गरिने बिहेमा सहभागि नहुने सामुहिक प्रतिबद्धता गरेको शारदा नगरपालिका–६ का टोपेन्द्रप्रसाद शर्माले जानकारी दिए ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिले कम उमेरमा गरिने बिहे बहिस्कार गर्ने जनाएका छन् । बाल बिवाह रोक्न जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने गरिएको छ ।

जनचेतना र कानुनी प्रक्रियासंग संगै अगाडी वढाउने गरी आफुहरु लागि परेको शारदा नगरपालिका नगर प्रमुख सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार नगरभित्रका सवै जनप्रतिनीधि र कर्मचारीले कम उमेरमा गरिने बिहेको निम्तो अस्विकार गर्ने जनाएका छन् । गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्